विराटचोक । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ स्थित विराटचोकको ३ वटा होटलमा लागेको आगो निभाउने क्रममा ग्याँस सिलिन्डर पडकिँदा ६ जना स्थानीय घाइते भएका छन् । घाईते मध्ये गम्भिर अबस्थामा रहेका स्थानीय छत्र थापा, खगेन्द्र प्रसाद लुईटेल र गोबिन्द दाहाललाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाएको छ । सुकुना सामुदायिक अस्पतालमा उपचार सम्भब नभएपछि उनीहरुलाई विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूको हात, खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । आगलागीमा ३ वटा टिनको छानो भएको होटल घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । विराटचौक स्थित पुर्वपश्चिम लोकमार्गको दक्षिण पट्टि रहेको मन्दिरा न्यौपानेले सञ्चालन गरेको ए वान खाजा घर, अर्चना पोख्रेलले सञ्चालन गरेको पोख्रेल स्टाप होटल र रमेश डङ्गोलले सञ्चालन गरेको धनकुटे समिर स्टाप होटलमा आगलागी भएको प्रहरीले जनाएको छ । होटलमा १० वटा ग्याँसको सिलिन्डर रहेकोमा ६ वटा पडकिएको बताइएको छ । सुन्दरहरैचा, बेलबारी, इटहरीकोे दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएपनि क्षतिको यकिन बिवरण प्राप्त भएको छैन ।








तपाईको प्रतिक्रिया