- अमर काफ्ले

इनरुवा। सप्तकोशी नदीले स्परमा कटान थालेपछि नियन्त्रणको प्रयास थालिएको छ । कोशीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ मा पर्ने ठाकुरबारी क्षेत्रको १० नम्बर स्परमा कटान थालेको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनका अनुसार सो क्षेत्रमा यतिबेला सुरक्षाकर्मी सहित स्थानीय र ठुलो संख्यामा कामदार खटिएका छन् । यसअघि पश्चिम तर्फ बहँदै आएको नदीको पानी पूर्व तर्फ सोझिदा स्पर नम्बर ९ र १० मा जोखिम बढाएको छ । दुवै स्परको बिचमा पानीको बेग बढी देखिएको सुनसरी प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार १० नम्बर स्परमा नदीको बेग सोझै ठोकिदा केही भाग कटानमा परेको छ । मर्मतको काम हिजैबाट थालिएपनि १० नम्बर स्परमा बढी जोखिम देखिएकाले आजबाट तिव्र गतिमा तारजाली र बालुवा भरिएका बोरा राख्ने काम भैरहेको पोखरेलले बताउनु भयो । प्रजिअ पोखरेलका अनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहित स्थानीयका अलावा दुई सय बढी कामदार स्पर मर्मत तथा कटान नियन्त्रणकालागि खटिएका छन् । कटान सामान्य भएपनि जोखिम नबढोस भन्ने हेतुले प्रोकोपाइन राख्ने देखि तारजाली र बालुवा सहितका बोरा राखी तटबन्ध मजबुत गर्ने काम भैरहेको प्रजिअ पोखरेलले बताउनु भयो ।

पोखरेलका अनुसार भारतीय पक्षले कटान लागेको स्पर सहित आसपासको क्षेत्रमा पर्याप्त मात्रामा कामदार खटाएको छ । नेपाली सुरक्षाकर्मी सहितको टोली समेत परिचालित छ । स्थलगत अनुगमन गरी स्पर र कामको अवस्था बुझ्ने काम भैरहेको छ । प्रजिअ पोखरेलले भन्नु भयो , “तत्काल कुनैपनि खतरा छैन् । कटान नियन्त्रणको कार्य जारी छ । त्यसकालागि थप केही समय लाग्ने छ । यद्यपी आत्तिनु पर्ने अवस्था भने छैन् ।” उता बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले यसअघि नलागेको कटान यो पटक देखिएको बताउनु भएको छ । स्परको केही भाग कटानमा परेकाले जोखिम देखिएपनि खतरा भने नरहेको वहाँको भनाई छ । खनालले पश्चिम तर्फ बहँदै आएको नदीको पानी पूर्वी किनार तर्फ ठोकिएकाले स्पर कटानमा परेको बताउनु भयो ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया