Baburam-Bhattrai

१० माघ, काठमाडौं । डा. बाबुराम भट्टराईले घोषणा गरेको नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदमा पीएचडी डाक्टर र नेपाल सरकारका पूर्वसचिव एवं प्रहरीका पूर्वएआइजीहरुको बाक्लो उपस्थिति देखिएको छ ।

ट्राफिक प्रहरीका पूर्वप्रमुखसमेत रहेका पूर्वएआइजी गणेशराज राईसमेत नयाँ शक्तिको केन्द्रीय परिषदमा सामेल भएका छन् । आइतबार नयाँ बानेश्वरबाट घोषणा गरिएको ३५ सदस्यीय कमिटीमा रहेका ९ जना डाक्टरमध्ये एक बाबुराम आफैं हुन् ।

त्यस्तै पूर्वस्वास्थ्यसचिव डा. प्रवीण मिश्र पनि कमिटीमा आवद्ध भएका छन् ।

त्यस्तै पार्टीका अध्यक्षसमेत रहेका विकास अभियन्ता डा. केशवमान शाक्य नयाँशक्तिको केन्द्रीय परिषदमा आवद्ध अर्का डाक्टर हुन् । धादिङ घर भएका डा. राजेन्द्र केसी र धनुषाका डा. रामकेवल साह पनि भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेका छन् ।

त्यस्तै सामाजिक लोकतान्त्रिक पार्टीबाट नयाँ शक्तिमा मिसिएका लिम्बु समुदायका प्रतिनिधि चैतन्य सुब्बा पनि पीएचडी डाक्टर हुन् । सिरहाका डा. जीतेन्द्र महासेठ नयाँशक्तिका अर्का डाक्टर हुन् ।

त्यस्तै अर्घाखाँची निवासी डा. मुक्ति रिजाल र दाङ निवासी डा. सुरेन्द्र चौधरी पनि बाबुरामको नयाँ शक्तिको केन्द्रीय परिषदमा आवद्ध भएका छन् ।

पूर्वसचिव को-को लागे ?

डा बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री भएका बेला उनको कामलाई देखेर प्रभावित भएको भन्दै नेपाल सरकारका केही पूर्वसचिवहरु नयाँशक्तिमा आवद्ध भएका छन् ।

‘मैले उहाँसँग दुई कार्यकाल काम गरें, एकपटक अर्थमन्त्री हुँदा र अर्कोचोटि पीएम भएका बेला’ पूर्वअर्थसचिव रामेश्वर खनालले नयाँशक्तिमा प्रतिवद्धता जनाउँदै भने ।

मुलुकको आर्थिक सम्वृद्धि र विकासका लागि आफूले डा. भट्टराईलाई साथ दिएर नयाँ शक्तिमा लागेको पूर्वअर्थसचिव खनालले बताए ।

हाल भक्तपुरमा बस्दै आएका सप्तरी निवासी पूर्वसचिव नथ्थुप्रसाद चौधरीले आफू कृषिमन्त्रालयको सचिव भएका बेला बाबुराम भट्टराईको काम देखेर प्रभावित भएको बताए । ‘म कृषि मन्त्रालयको सचिव थिएँ,’ पूर्वसचिव चौधरीले भने-बाबुरामजीले कृषि मन्त्रालय पनि हेर्नुहुन्थ्यो, त्यसबेला उहाँबाट प्रभावित भएकाले अहिले नयाँशक्तिमा लागेको हुँ ।’

त्यसैगरी नेपाल सरकारका अर्का पूर्वसचिव तथा इञ्जिनियर हरेराम कोइरालाले पनि आफू नयाँशक्तिमा आवद्ध भएको घोषणा गरे । कोइराला गोरखा निवासी हुन् ।

ट्राफिक र सशस्त्र प्रहरीका पूर्वएआइजी पनि

पूर्वएआइजी तथा ट्राफिक प्रहरी प्रमुख गणेशराज राईले काठमाडौंको सडक चौडा बनाउने बेलामा डा. बाबुराम भट्टराईसँग सहकार्य गरेको बताए । त्यहीँबाट प्रभावित भएकाले आफू नयाँ शक्तिलाई लागेको राईले प्रतिवद्धता जनाए ।

त्यसैगरी रुपन्देही घर भएका सशस्त्र प्रहरीका पूर्वएआइजी नारायण पाण्डे पनि बाबुरामको नयाँशक्तिमा आवद्ध भएका छन् । सशस्त्र प्रहरीबाट अवकाश पाएका ऋषवदेव भट्टराईले पनि डा. बाबुरामको नयाँशक्तिमा आवद्धता जनाएका छन् ।

अरु को-को लागे ?

माओवादीको चर्को आलोचना गर्दै आएका राजनीतिक विश्लेषक मुमाराम खनाल पनि नयाँशक्तिमा लागेका छन् । ०६२ सालदेखि माओवादी छाडेर स्वतन्त्र रहेको र अब फेरि आफ्नो टुटेको राजनीतिको कडी नयाँ शक्तिमार्फत जोडिएको खनालले बताए ।

त्यस्तै सुनसरीको इटहरीमा रहेर विगत ४ वर्षदेखि वैकल्पिक विचार मञ्चको नेतृत्व गर्दै आएका केशव दाहाल र डम्बर खतिवडा पनि नयाँशक्तिको केन्द्रीय परिषदमा आवद्ध भएका छन् ।

पूर्वमाओवादीबाट भने ३५ सदस्यीय कमिटीमा थोरै मात्रै सहभागी छन् । परिषदमा पूर्व माओवादीका तर्फबाट रामचन्द्र झा र देवेन्द्र पौडेलको नाम सार्वजनिक गरिएको छ । ३५ सदस्यीय कमिटीमा रामकुमार शर्मा, रामरिझन यादव, गंगा श्रेष्ठ, कुमार पौडेल, हिसिला यमीलगायतका पूर्वमाओवादी समूहका नेताहरुको नाम छैन । २६५ सदस्यीय कमिटीमा बाँकी नामहरु पछि थपिने र सार्वजनिक गरिने डा. बाबुराम भट्टराईले जानकारी दिए ।

समितिमा अपाङता भएको समूहबाट कमला हेमचुरी सहभागी भएकी छिन् । दलितकै प्रतिनिधिका रुपमा सामाजिक लोकतान्त्रिक पार्टीबाट दलमर्दन कामीलाई समावेश गरिएको छ । त्यस्तै दलित अधिकारको अभियन्ता दूर्गा सोब पनि नयाँशक्तिमा लागेकी छिन् ।

नायिका करिश्मा मानान्धरका साथै लिली थापा पनि नयाँशक्तिका महिला अनुहार हुन् । त्यस्तै काठमाडौंको असन निवासी मोहिनी महर्जन पनि महिला प्रतिनिधि हुन् ।

नयाँशक्तिमा लिम्बु, राई, शेर्पा र चौधरी लगायतका जनजाति अनुहार देखिएका छन् भने मधेसबाट पनि यादव, साहदेखि झासम्मको सहभागिता देखिएको छ ।

तपाईको प्रतिक्रिया