- अमर काफ्ले

सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । आज नयाँ थप भएका २३ सहित जिल्लामा कोरोना पोजेटिभको संख्या ४ सय ९ पुगेको छ । स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीमा सबैभन्दा बढी संक्रमित धरानमा भेटिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङथेपका अनुसार कार्यालयमा प्राप्त रिपोर्टका आधारमा धरानमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । त्यसैगरी अन्य कोरोना संक्रमितहरु मध्ये इटहरीमा ६५ जना भेटिदा दुहवीमा ५९, हरिनगरमा ३४, कोशीमा २९, रामधुनीमा २५, भोक्राहामा २० जना रहेका छन् । त्यस्तै बर्जुमा १९, इनरुवा र देवानगञ्जमा १५–१५ जना कोरोना पोजेटिभ पाइएका छन् भने बराहक्षेत्रमा १२ र गढीमा ७ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा पाइएका संक्रमितको संख्या जिल्ला भित्र स्वाब संकलन गरी परिक्षण गरिएकाहरु रहेको बताइएको छ । संक्रमितको संख्या सम्वन्धित स्थानीय तहमा गरिएको परीक्षणका आधारमा सोही तहमा उल्लेख रहने गरेको समेत कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार पछिल्लो समय सुनसरीमा क्वारेन्टिन बाहिर रहेका व्यक्तिहरुमा बढी संक्रमण देखिन थालेको छ । सुनसरीमा अहिले सम्म १६ हजार ४१ जनाका पीसीआर टेष्ट भएको छ । जसमध्ये ४ सय ९ पोजेटिभ देखिदा १ सय ८१ जना निको भैसकेका छन् । सुनसरीमा एक्टिभ केसको संख्या भने २ सय २८ रहेको छ ।

तपाईको प्रतिक्रिया