११ माघ, विराटनगर/ मोरङको रंगेली र डायनिया घटनाका मृतकहरुको सम्मान गर्न भन्दै सोमबार निकालिने शव यात्राका लागि विराटनगरका सबै विद्यालयहरु बन्द गराइएको छ ।

गत बिहीबार प्रहरीसँग भएको झडपमा मृत्यु भएका तीन जनाको सोमबार शवयात्रासहित अन्त्येष्टि गर्ने कार्यक्रम छ । शव यात्रामा सहभागी हुन मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरु विराटनगर आएका छन् ।

विहान १० बजेपछि कसिया हुँदै रंगेली र डायनियासम्म शव यात्रा गर्ने तयारी भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङका प्रवक्ता महम्द कादिरले जानकारी दिए । तमलोपाका मोरङ अध्यक्षसमेत रहेका कादिरले भने, ‘तराई मधेसको आन्दोलन जारी रहेको अवस्थामा रंगेली घटनामा साहदत पाएकाले उनीहरुको सम्मानका लागि शव यात्रा गर्न लागिएको हो ।’

मोर्चाको आग्रहअनुसार सोमबार एक दिन नगर क्षेत्रका सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको प्याव्सन मोरङका सचिव राजेश आचार्यले जानकारी दिए । विद्यालय बन्द हुँदा नगर क्षेत्रका करिव ८५ विद्यालयका सयौं विद्यार्थीहरु अध्ययन गर्नबाट बन्चित भएका छन् ।

तपाईको प्रतिक्रिया