Nepali-Congress-Party-Flag

११ माघ, काठमाडौं । लगातार दुई कार्यकालसम्म केन्द्रीय सभापति वा जिल्ला सभापति बनेका नेपाली कांग्रेसका नेताहरुले सोही पदमा तेस्रोचोटि उम्मेदवारी दिन नपाउने भएका छन् ।

कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार बसेको बैठकले पार्टी सभापतिमा तेस्रोपटक उम्मेद्वारी दिन नपाइने निर्णय गरेको हो । यो निर्णय केन्द्रीय समिति र जिल्ला समितिमा मात्र लागू हुनेछ । क्षेत्र र स्थानीय कमिटीमा तेस्रोपटक सभापति बन्न पाइने छ ।

बैठकको निर्णयबारे जानकारी दिदै केन्द्रीय सदस्य जीवन परियारले अनलाइनखबरसग भने, ‘बैठकले क्रियाशील सदस्यताको प्रतिवेदनमा भएका त्रुटीहरु सच्चाएको छ र दुई कार्यकालसम्म सभापति पदमा रहेकाहरुलाई सोही पदमा तेस्रोपटक उम्मेदवारी दिन रोक लगाउने निर्णय भएको छ ।’

केन्द्रीय सदस्य गगन थापाले बैठकपछि दिएको जानकारी अनुसार देउवा पक्ष र संस्थापन पक्षको पार्टी एकीकरण पछिका सभापतिलाई एक कार्यकाल मानेर त्यसपछि १२ औं महाधिवेशनसम्मलाई दोस्रो कार्यकालमा गणना गरिने छ ।
यस्तो निर्णयले आगामी तेस्रो महाधिवेशनमा पार्टी सभापतिमा चुनाव लड्न सभापति सुशील कोइरालालाई बाटो खुल्ला भएको छ । साथै यो निर्णयबाट केन्द्रीय सदस्यको उम्मेद्वारीका लागि कसैलाई पनि बाधा पर्ने छैन । तर, जिल्ला समितिको हकमा भने यो निर्णयबाट एक दर्जन नेताहरुलाई सभापति बन्न बाटो छेकिने थापाले अनलाइनखबरलाई बताए ।
त्यसैगरी बैठकले एक वर्ष अगाडि नै क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने विधानको व्यवस्थामा संसोधन गर्ने निर्णयसमेत गरेको छ ।

संस्थापन र देउवा पक्षबीचको विवादका कारण १३ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ भएको थियो ।

संविधान संशोधन भएकोमा खुशी

कांग्रेस बैठकले पार्टी सभापति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा संसदमा पेश भएको संविधान संशोधन विधेयक वर्तमान सरकारको पालामा पारित भएको भन्दै खुसी व्यक्त गरेको छ ।

त्यसैगरी, कांग्रेसले भूकम्प पीडितलाई राहत, पुनस्र्थापना तथा पुनर्निर्माणको काममा सरकारले गरेको ढिलासुस्ती र कृष्णप्रसाद भट्टराई सन्चार प्रतिष्ठानबाट कृष्णप्रसादका नाम हटाइएकोमा आपत्तिसमेत जनाएको छ ।

यस्तै अखण्ड नेपाल पार्टीका समानान्तर समितिका संयोजक दयाराम पाण्डेलगायतका नेता-कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेकोमा बैठकले स्वागत गरेको छ ।

तपाईको प्रतिक्रिया