- दिलिप कुमार साह

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला संकट व्यवस्थापन समितिको निर्णयले पुनः एक साताको लागि निषेधाज्ञा थप गरेको छ ।जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले पहिलो पटक गत साउन ८ गते रातिबाट निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन २३ गतेदेखि जिल्ला भरि नै निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि तेश्रो चरणमा २ भदौदेखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो ।

पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएपछि चौथो पटक भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकले छलफल गरी निषेधाज्ञाको म्याद थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । कोरोना भाइरसको जोखिम कायमै रहेको तथा जनस्तरमा फैलिदै गएकाले निषेधाज्ञाको समय थप गरिएको उनको भनाई छ । बैठकले राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा यी तिन वटै स्थानीय तहमा रहेका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । केही स्थानीय तहको हकमा भने भिडभाड नगरी सामाजिक दुरी कायम गर्दै अत्यावश्यक सामग्री र सेवाका सबै पसल, प्रतिष्ठान र कार्यालय खोल्न छुट दिइने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया