- अमर काफ्ले

सुनसरी प्रशासनले जिल्लाभर लागु रहँदै आएको निषेधित क्षेत्र आज रातीबाट खुकुलो पार्ने निर्णय गरेको छ ।प्रशासनले जारी गरेको सूचना सँगै भोलिबाट सुनसरीका बजार पसल मापदण्ड अनुरुप संचालनमा ल्याउन पाइने छ । विहान १० बजेसम्म बजार पसल खोल्न पाइने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलका अनुसार स्वास्थ्य मापदण्ड अनुसार तोकिएको समयावधिभर बजार पसल खोल्न पाइने छ ।

लक डाउन खुकुलो बनाइएको जनाइएपनि प्रशासनले सिटी सफारी बाहेकका सवारीका साधन भने तत्काल संचालन गर्न नपाइने भनेको छ । प्रशासनले २ जना सवार रहन सक्ने गरी स्वास्थ्य प्रोटोकलको ख्याल गरी सिटी सफारी भने संचालनमा ल्याउन सकिने जनाएको छ । बजार पसल निश्चित समय खुलेपनि सैलुन, ब्युटीपार्लर, जिमखाना भने खोल्न पाइने छैन् । दैनिक तथा साप्ताहिक हटिया र सडक पेटीमा गरिने व्यापार समेत तत्काल संचालन गर्न नपाइने सुनसरी प्रशासनले जनाएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था भने स्वास्थ्य मापदण्ड अनुसार भीडभाड नहुने गरी संचालन गर्न पाइने सुनसरी प्रशासनले सूचना मार्फत जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया