- अमर काफ्ले

सुनसरीमा करम पूजा पर्वका रुपमा मनाइएको छ । उराँव समुदायले करम पूजाको आयोजना गरी पर्व मनाएका हुन् । उनीहरुले यस पटकको पूजालाई भीडभाड रहित रुपमा मनाएका हुन् ।

कोरोना महामारीका बिच बढ्दो जोदिमलाई मध्यनजर गर्दै उराँव समुदायले स्वास्थ्य मापदण्डको ख्याल गर्दै करम पूजाको आयोजना गरेको छ । इनरुवामा शान्तिको प्रतिक परेवा उडाएर करम पूजालाई औपचारिकता दिइएको थियो ।उराँव प्रतिष्ठान इनरुवाको हातामा आयोजित कार्यक्रममा पूजापाठ सहित जमरा लगाएर शुभकामना साटासाट गरिएको थियो । नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार करम पूजा गर्नाले चिताएको पुग्ने, परिवारमा शुख शान्ति मिल्ने, श्रीवृद्धि र अकाल मृत्यु टर्छ भन्ने जनविश्वास रहेको छ ।

उराँव समुदायले आफ्नो जातिलाई प्रकृति पुजकका रुपमा लिने गर्छन् । उनीहरुले करम पूजालाई महत्वपूर्ण चाडका रुपमा मनाउने गर्छन् । भदौ १० गतेबाट सुरु भएको पर्वको बिहिबार समापन हुने आयोजकले बताएको छ । सुनसरीमा उराँव जातिको बाक्लो बसोबास रही आएको छ ।यसअघिका वर्षमा भने उराँव समुदायले सुनसरीमा भव्य रुपमा करम पूजाको आयोजना गर्ने गरेका थिए । उराँव जातिले भाद्र पूर्णिमाको दिन चाडका रुपमा करम पूजाको आयोजना गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया