मंगलबार डा. सुजितकुमार साहले आफू बस्ने क्वाटरको आठौँ तलाबाट हाम फालेर आत्महत्या गरेको खबर फैलियो। धेरैलाई पत्याउन गाह्रो भयो। कतिपयले डा. सुजित आत्महत्या गर्न सक्दैनन् भन्दै सामाजिक सञ्जालमा स्ट्याटस राखे। कतिले घटनाको अनुसन्धान हुनुपर्ने माग राखिरहेका छन्।

उसो त यो घटनाको अनुसन्धानको पाटोमा भारतीय प्रहरीले काम गरिरहेको छ।

डा. सुजित चिकित्सा क्षेत्रमा चिरपरिचित नाम हो। उनी रोबोटिक कलेजो प्रत्यारोपणका विशेषज्ञ थिए। डा. साह रोबोटको माध्यमबाट कलेजो प्रत्यारोपण गर्ने चिकित्सकका रुपमा विश्वभर चर्चा चुलिँदै थियो। उनी भारतको मेदान्त अस्पतालमा कार्यरत थिए। मेदान्त अस्पताललाई भारत मात्र नभएर एसियाकै अब्बल अस्पतालको रुपमा चिन्ने गरिन्छ।

डा. साहले जनकपुरको जानकी आवासीय माविबाट एसएलसीसम्मको अध्ययन गरेका थिए। त्यसपछि उनले माइतीघरस्थित सेन्ट जेभियर्स कलेज माइतीघरबाट आइएस्सी गरेका थिए। आइएस्सीपछि उनले पोखरामा रहेको मणिपाल मेडिकल कलेजबाट एमबिबिएस गरे।

नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका थिए जसले गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका विभिन्न ठाउँमा बसेर उनले २ वर्ष काम गरे। करार सकिँदै गर्दा डा. साहले भारतको चण्डीगढमा स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थानबाट छात्रवृत्तिमा एमएस पढे।

यतिमै उनी रोकिएनन्। उनी अगाडि बढ्दै गए। एमएस पढिसकेपछि फेरि उनले भारतकै अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)बाट कलेजो प्रत्यारोपण सर्जरीमा एमसीएच गरे। केही समय उनले एम्समै काम गरे। त्यो पछि यता डा. साह मेदान्तमा कन्सल्टेन्ट लिभर ट्रान्सप्लान्ट सर्जनको रुपमा काम गर्दै, एसोसिएट कन्सलटेन्ट लिभर ट्रान्सप्लान्टको रुपमा शिक्षण गरिरहेका थिए।

३९ वर्षमै यति धेरै सफलता हासिल गरेका डा. साह आफ्नो हत्या आफैँ कसरी गर्न सक्लान् भन्ने प्रश्न उनका निकट साथीहरुले व्यक्त गरेका छन्।

सहपाठी डा. पुनम कर्ण
हामीले स्कुल सँगै पढेका थियौँ। हामी एउटै सेक्सनमा थियौँ। उहाँ हाम्रो कक्षाको फस्ट ब्वाई हुनुहुन्छ। उहाँ मल्टिट्यालेन्टेड, एक्स्ट्राअर्डिनरी। कम उमेरमै धेरै डिग्री लिइसक्नु भएको छ। यसैबाट थाहा थाहा पाइन्छ उहाँ कति ट्यालेन्ट हुनुहुन्थ्यो भन्ने कुरा। उहाँ भारत गएपछि भेटघाट भएको थिएन। तर फोनमा कुराकानी गर्थ्यौँ।
उहाँले क्वाटरबाट हाम फालेको भनिएको छ। मैले उहाँलाई बुझेसम्म आत्महत्या गर्ने मान्छे होइन। उहाँ धेरै बलियो हुनहुन्थ्यो। उहाँको सपना थियो। अब चाँडै भारतबाट बिदा लिएर नेपालमै रोबोटिक कलेजो प्रत्यारोपण सुरु गर्ने भन्नुहुन्थ्यो।तर अचानक उहाँको मृत्युको खबरले सदमामा छौँ। मलाई त घरिघरी यो खबर झुटो भन्ने लागिरहेको छ।

सहपाठी डा.अशेष ढुंगाना
एमबीबीएस गर्दा उहाँ मभन्दा एक ब्याच सिनियर हुनुहुन्थ्यो। त्यपछि भने सन् २००१ देखि २००७ सम्म सँगै पढेका थियौँ। त्यसपछि केही काम गरेर चण्डीगढमा एमएस पढ्न जानुभयो। उहाँ सँगसँगै मैले त्यहीँ एमडी मेडिसिनमा नाम निकालेर हामी दुवै जनाले एउटै ‘ब्याच जोइन’ गरेका थियौँ। तीन वर्षको पढाइपछि उहाँले फेरि एमसीएचका लागि एम्समा नाम निकाल्नु भयो। म फर्केर नेपाल आएँ। परीक्षा दिन मात्र जान्थेँ। उहाँ सँगसँगै फेरि मैले पनि एम्समा डिएमपल्मानेरी मेडिसिनमा जोइन गरे। र फेरि एक पटक हामी साँढे दुई वर्ष सँगै भयौँ।

पढाइ सकेर उहाँ भारतमै काम गर्न थाल्नु भयो। म नेपाल फर्किएँ।उहाँसँगको मेरो सामिप्य त नेपाल हुँदादेखि लिएर भारतसम्म रह्यो। उहाँ एकदमै मिजासिलो स्वभावको हुनुहुन्थ्यो। अलिकति लजालु खाले हुनुहुन्थ्यो तर मानिसहरुसँग एकदमै छिटो घुलमिल हुनु हुन्थ्यो। त्यसैले उहाँका साथी छिटो बनिहाल्थे। धेरै मेहनती हुनुहुन्थ्यो।सुरुकै दिनबाट उहाँलाई सम्झने हो भने उहाँ परिपक्व खालको निर्णय लिनु हुन्थ्यो। पछि पढ्दै जाँदा एउटै ब्याचमा भएपनि उहाँ मेरो सिनियर भएकाले म उहाँलाई दाइ नै भन्थेँ। उहाँ मलाई परेका समस्यालाई समेत सरल तरिकाले सल्लाह सुझाव दिएर समस्याको समाधान गर्न मदत गर्नु हुन्थ्यो।उहाँको र मेरो अन्तिम भेट दुई वर्ष अगाडि भएको थियो। म एउटा कन्फ्रेन्सको सिलसिलामा भारत गएको थिए। त्यही बेला हामीले भेटघाट गरेका थियौँ।उहाँले आत्महत्या गर्नु भयो, यो खबर मलाई पत्याउन गाह्रो भइरहेको छ। मैले स्वीकार्न सकेको छैन, डा. सुजित अब हामीबीच हुनुहुन्न।मैले उहाँलाई बुझेअनुसार उहाँ हतारमा निर्णय गर्ने खालको व्यक्ति हुनुहुन्न। सबै कुरालाई परिपक्व तरिकाले सोचेर बुझेर मात्र समाधान गर्ने गर्नु हुन्थ्यो। उहाँको जुन व्यक्तित्व थियो, त्यस अनुसार उहाँ आत्महत्या गर्न सक्नु होला यो कल्पना बाहिरको कुरा हो।हामी कुरा गर्दा सधैँ उहाँ एउटै कुरा भन्नु हुन्थ्यो, ‘म अहिले योङ छु। मैले जे काम यहाँ (भारत)मा गरिरहेको छु। त्यो नेपालमा भर्खर सुरु भएको छ। म भारतमा बसेर लामो समय काम गर्दिनँ। अब नेपाल फर्केर नेपालकै बिरामीको सेवा गर्छु।’

डा. राकेश साह
सुजितलाई मैले ६ कक्षाबाट चिनेको हो। ऊ मभन्दा जुनियर भएपनि हामीले स्कुल, त्यसपछि पोष्ट ग्राजुयट एकै ठाउँबाट गरेका थियौँ। सुजित मेरो परिवारको एउटा हिस्सा थियो। उनको मृत्युले मलाई अगाध चोट पुर्‍याएको छ।हाम्रो पारिवारिक सम्बन्ध भएका कारण हामी परिवारिक समस्याहरु एक अर्कासँग साटासाट गथ्यौँ। हामी कहिले आर्थिक समस्याका बारे कुरा गथ्यौँ, कहिले सामाजिक समस्याका कुरा गथ्यौँ त कहिले स्वास्थ्यका बारेमा कुरा गथ्यौँ।उसको र मेरो बिच गएको आतबार कुरा भएको थियो। तर उसले आफ्नो समस्या केही पनि सेयर गरेन। हामी दुवै जना अलि हतारमा थियौँ। उसले दाइ भोलि कुरा गरौँला भन्यो। म पनि हतारमै भएको भएर हुन्छ भोलि कुरा गरौँला भने। सोमबार हाम्रो कुरा हुन सकेन।मंगलबार मैले खबर सुनेँ, ‘ही इज नो मोर।’ मलाई पत्याउनै गाह्रो भयो। त्यपछि मैले मेदान्तमा काम गरिरहेको मेरो साथीहरुलाई फोन गरे। मलाई लागिरहेको थियो। यो खबर झुटो होस् तर उनीहरुले मैले सुनेको कुरा सत्य भएको बताए।मैले सुजितको जस्तो अबस्था नओस्, कसैले पनि आत्महत्या नगरुन भन्ने हेतुुले एउटा अभियान सुरु गरेको छु। ‘आत्महत्या रोकौँः एक अर्कासँग कुरा गरौँ, एक अर्कालाई मद्दत गरौँ’ (Stop Suicide: lets talk and help each other) भनेर क्याम्पेन सुरु गरेको छु।उसको मृत्युलाई मैले स्वीकार्न सकिरहेको छैन। मैले उसलाई पढ्न भारत बोलएको थिएँ। मैले नबोलाएको भए अर्को कुनै ठाउँ हुन्थ्यो होला। शायद यो स्थिति आउने थिएन कि? घरिघरी उसको दोषी म आफैँले आफैँलाई सम्झिरहेको छु।

स्क्रब नर्स, राहुल शर्मा
सन् २०१६ मा मेदान्त जोइन गरेपछि लिभर ट्रन्सप्लान्ट विभागमा काम सुरु गरेँ। डा. एएस सोइन पछि विभागको सिनियर सर्जन हुनुहुन्थ्यो, डा. सुजित। मैले पनि उहाँहरुको टिममा काम गर्ने मौका पाएँ। लिभर ट्रन्सप्लान्ट सर्जरीको हुँदा उहाँसँग मेरो पहिलो पटक ‘इन्टरयाक्ट’ भएको थियो।

उहाँ धेरै राम्रो डाक्टर, व्यक्ति, अभिभावक, गाइड हुनुहुन्थ्यो। उहाँ हामीलाई सानोभन्दा पनि सानो कुराहरु सिकाउँदै आफ्नो व्यक्तित्वलाई कसरी विकास गर्ने जस्ता कुराहरु सिकाउन हुन्थ्यो।मैले सन २०१८ मा मेदान्त छोडेँ। तर हामी सोसल मिडियामा कुराकानी गर्थ्यौँ।मैले मैगलबार थाहा पाएँ, अब उहाँ हामीबीच हुनुहुन्न। उहाँको मृत्युको खबरले मलाई धेरै दुखी बनाएको छ। मैले एउटा असल व्यक्ति अनि ‘बेस्ट मेन्टर’ गुमाएँ। देशसञ्चारको सहयोगमा

तपाईको प्रतिक्रिया