- अमर काफ्ले

समुदाय स्तरमा कोरोना फैलिए पछि इनरुवाको वडा नम्बर ५ क्षेत्र सिल गरिएको छ ।एउटै वडामा ६१ जना संक्रमित भेटिए पछि सुनसरी प्रशासनले अर्को निर्णय नभए सम्मको लागि सो क्षेत्र सिल गरिएको जनाएको छ ।विहानैबाट उक्त क्षेत्रमा सुरक्षाकर्मीले आवतजावतमा कडाई गरेता पनि प्र्रशासनले भने वडा सिलको आधिकारिक निर्णय भने दिउँसो अबेर मात्र गरेको हो ।


प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कोरोना फैलन नदिन तत्कालकालागि उक्त क्षेत्र सिल गरिएको बताउनु भयो । वहाँले परिस्थिति हेरेर थप निर्णय लिइने बताउनु भयो ।सिल गरिएसँगै दुहवी इनरुवा सडक खण्डको बलाहा क्षेत्रमा आवतजावत ठप्प पारिएको छ । इनरुवा दुहवी जोड्ने मुख्य मार्ग आसपासको वस्ती संक्रमित रहेको वडा क्षेत्रमा परेका कारण समेत उक्त क्षेत्र समेटेर सिल गर्नु परेको प्रशासनले जनाएको छ ।


उता नगरपालिकाको कार्यालयले एक साताको लागि इनरुवा ५ को सम्पूर्ण क्षेत्रमा पूर्ण लकडाउन गरिएको सूचना प्रकाशित गर्दै सर्वसाधारणलाई अत्यावश्यक अवस्थामा बाहेक हिंडडुल नगर्न भनेको छ ।इनरुवाको बलाहामा हिजो मात्रै एकसाथ ४० नयाँ कोरोना संक्रमित थपिएका थिए । कुल ६१ जना संक्रमितमा बालक देखि वृद्ध सम्म रहेका छन् । इनरुवा ५ मा थप भएका पोजेटिभ व्यक्ति सँगै इनरुवामा कुल संक्रमितको संख्या १ सय १६ पुगेको स्वास्थ्य शाखा इनरुवाका अधिकृत सन्तोष देवले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया