क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले ट्रिनबागो नाइट राइडर्सलाई एक सय ८ रनको लक्ष्य दिएको छ। टस जितेपछि ट्रिनबागोले पहिला बलिङ गर्ने निर्णय गरेको थियो। जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७ रन जोड्यो। जमैकाका निरुमह बोन्नरले सर्वाधिक ४१ रन बनाए।

रोवमन पावेलले ३३ र कार्लोस ब्राथवैटले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जर्माइन ब्ल्याकउड ०, ग्लेन फिलिप्स २, आन्द्रे रस्सेल २ र आसिफ अलि ४ रन बनाएर आउट भए। २५ रन जोड्दा चार विकेट गुमाएको जमैकाले पाँचौँ विकेटका लागि ३८ रनको साझेदारी गरेपनि खेलमा सुधार ल्याउन सकेन। ट्रिनबागोका अकिल हुसेनले चार ओभरमा १४ रन खर्चिएर तीन विकेट लिए। सुनिल नारायनले चार ओभरमा १३ रन खर्चिएर एक विकेट हात पारे। चार ओभरमा २९ रन खर्चिएका खेरी पायरले पनि २ विकेट हात पारे।प्रतियोगिताको लिग चरणमा ट्रिनबागोले सबै १० खेल जितेको थियो। यता जमैकाले भने १० मध्ये केवल तीन खेलमात्र जितेर चौथो हुँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

तपाईको प्रतिक्रिया