- दिलिप कुमार साह

राजविराज। जिल्लाको रागजढ गाउँपालिकाको वडा नं. ५ को कार्यालयमा उपभोक्ता समितिहरुले बुधबार तालाबन्दी गरिएको छ । वडा नम्बर ५ मा विभिन्न विकास निर्माण गर्नको लागि गठन भएको उपभोक्ता समितिका पदाधिकारीहरुले तालाबन्दी गरेको हो । वडा कार्यालय आ.ब. २०७६÷०७७ मा करिब १ दर्जन उपभोक्ता समितिहरुद्वारा विकास निर्माण कार्य सम्पन्न भएको महिनौ वित्तिसक्दा पनि भुक्तानी नदिएको भन्दै आक्रोशित उपभोक्ता समितिका पदाधिकारीहरुले तालाबन्दी गरेका हुन ।

स्थानिय ध्रुव साहले काम सम्पन्न गरेको तिन महिना वित्तिसक्दा पनि वडाध्यक्ष लक्ष्मी ठाकुरले परिषद नबसेकोले भुक्तानी हुन नसकेको भनेपनि आफुहरु समस्या परेकोले बाध्य भई तालाबन्दी गर्नुपरेको बताए । यता गाउँपालिका अध्यक्ष परमानन्द यादवले समयमा नीति तथा बजेट तर्जुमा कार्यक्रम आरम्भ गरी दोश्रो चरणको कार्यक्रम तोकिए पनि यस गापाको वडा अध्यक्ष सहित केही वडा सदस्यहरुले उक्त कार्यक्रममा सहभागी नभएकोले दोश्रो चरणको कार्यक्रम हुन सकेन । उनले भने परिषद नभएसम्म कुनै किसिमको भुक्तानी गर्न नमिल्ने भएकोले भुक्तानी हुन सकेन र वास्तविकता पनि यही हो । नेपाल सरकारद्वारा जारी भएको नीति नियम पालना गर्नु हामी सबैको दायित्व पनि हो र उपभोक्ता समितिहरुद्वारा वडा नम्बर ५ मा गरिएको तालाबन्दी निन्दनीय रहेकोले त्यसको घोर भत्सर्ना गर्दछु ।

यस्तै अर्का उपभोक्ता समितिका अध्यक्ष जितन सरदारले गाउँकै साहु महाजन सँग चर्को ब्याज लिएर काम सम्पन्न गरेको ३ महिना वितिसक्दा पनि भुक्तानी नपाउँदा आफुहरु ऋणको ब्याजमै डुब्न लागेको बताए । यस्तै समस्या अरु अरु उपभोक्ता समितिका पदाधिकारीहरुले सुनाउँदै सम्पन्न कामको रकम भुक्तानी नभएसम्म तालाबन्दी नखोलिने अडान लिएका छन् । त्यस्तै वडा नम्बर ५ का बडा अध्यक्ष लक्ष्मी नारायण ठाकुरले भुक्तानीको लागि सम्बन्धित निकायमा नगई वडामा तालाबन्दी गर्नु निन्दनीय भएको भन्दै देशैभरि कुनै वडा कार्यालयले उपभोक्ता समितिको भुक्तानी गर्न नसक्ने बताए ।

तपाईको प्रतिक्रिया