- अमर काफ्ले

जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वयं सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराउनु भएको छ । भण्डारीले गढी गाउँपालिकामा २२ गते स्वाब दिनु भएको थियो । वहाँका अनुसार आज प्राप्त परीक्षण रिपोर्टमा आफुमा कोरोना भाइरसको संक्रमण देखा परेको हो ।

भण्डारीले आफुमा कोरोना संक्रमण पुष्टि भएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य जाँच गराउन आग्रह गर्नु भएको छ । वहाँले भन्नुभयो, कार्यालयको कामकाज, आकस्मिक मिटिङ लगायत विभिन्न अन्य कामकाजका दौरान जो कोहीसँग आफ्नो सम्पर्क रह्यो ती सबैलाई स्वास्थ्य जाँचको लागि अनुरोध गर्दछु । भण्डारीले आफ्नो सम्पर्कमा रहेकाहरुको हकमा कन्ट्याक्ट ट्रेसिङकका क्रममा जानकारी गराउने बताउनु भएको छ । वहाँले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरु नछुटुन भनेर सबै सामू स्वास्थ्य जाँच गराउन वा स्वास्थ्यकर्मीको परामर्श लिन आग्रह गरिएको बताउनु भयो । भण्डारीका स्वकीय सचिव अच्युत भण्डारीका अनुसार संक्रमण पुष्टि भएसँगै सभापति भण्डारी होम आइसोलेसनमा हुनुहुन्छ । वहाँको अवस्था सामान्य छ ।

तपाईको प्रतिक्रिया