अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीविरूद्ध सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बिगो माग दाबी लिई अख्तियारले मंगलबार अदालतमा मुद्दा दायर गरेको हो।सार्वजनिक पदमा रहँदा उनले सो बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारको दाबी छ। दास २०५० साल असार २७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए।

उनी २०६८ साल पुस १७ गते उपकुलपति र त्यसपछि प्रतिष्ठानमा प्राध्यापक भएर काम गरेका थिए।दासले सार्वजनिक सेवामा रहँदा १५ करोड ३२ लाख ३ हजार ३३० रुपैयाँ आर्जन गरेको अनुसन्धानबाट देखिएको छ। अख्तियार प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनले यो अवधिमा खर्च तथा लगानी गरेको देखिएको र सो रकमको स्रोत नखुलेको बताए।

‘पद अनुसार अमिल्दो र अस्वाभाविक देखिएर उच्च जीवनयापनसमेत गरेको देखिएकोले आरोपी दासको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखियो,’ अख्तियारले अभियोग पत्रमा लेखेको छ। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी दासले श्रीमती पुनमको नाममा राखेको देखिएकाले उनलाई पनि प्रतिवादी कायम गरिएको छ। पुनमलाई गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ। – सेतोपाटीको सहयोगमा

तपाईको प्रतिक्रिया