- अमर काफ्ले

इनरुवाको मुख्य बजार क्षेत्रमा यतिबेला निकै ठूलो खाडल देख्न सकिन्छ । उक्त खाडल वर्षाको पानी जमेर पोखरी सरह देखिएको छ ।
लक डाउन खुलेर दैनिकी सामान्य बन्दै जाँदा बजार पसल खुलेका मात्रै छैनन् । उपभोक्ताको भीड समेत बढ्दो छ । त्यतिमात्र नभएर बजार क्षेत्र भएर आवतजावत गर्ने सर्वसाधारण सँगै सवारीका साधनको समेत चाप बढेको छ ।

यतिबेला बजार पुग्ने जोकोहीका लागि पोखरी सरह बनेको खाडल छिचोल्दै अघि बढ्नु दैनिकी सरह बनेको छ । मुख्य बजार क्षेत्रको सडक खाडलमा परिणत भएको निकै लामो समय भैसकेको छ । जिर्ण बनेको उक्त खण्ड सडक निर्माण चरणको कारण देखाउँदै सुरुवाती अवस्थामा नगरपालिकाले मर्मत गरेन् । हनुमान वस्त्रालयमा भएको आगलागी नियन्त्रणका क्रममा प्रयोगमा आएका सवारी साधनका कारण सो सडक खण्ड थप खाडलमा परिणत भयो ।
सुरुवाती अवस्थामा कोही कसैको चासोको विषय नबने पनि यतिबेला भने उक्त खण्डमा एकपछि अर्को स–साना खाडल थपिदै गएका छन् । पानीको निकास नहुँदा खाडल पोखरीमा परिणत हुन थालेको छ । निकै स्कुटी चालक तीन बल्ड्याङ समेत भैसकेका छन् ।
सर्वसाधारणका लागि आवतजावतमा समस्या पर्न थालेको छ । त्यसैले यतिबेला सो खण्ड भएर यात्रा गर्ने जोकोहीले उक्त खण्डलाई इनरुवा पोखरी भनेर व्यङग्य गर्न थालेका छन् ।

नगरवासी त्यसमा पनि खासगरी बजार क्षेत्रका व्यापारी खाडल र हिलाम्य अवस्थालाई देखेर निकै आजित छन् । उनीहरु सडक निर्माण चरणमा भएपनि तत्काल देखिएको समस्या समाधान गरेर अघि बढ्न नसक्नु नगरपालिकले गैर जिम्मेवारीपन भएको बताउँछन् ।
त्यसैले उनीहरु भन्छन्, ‘नगरको मुटुमा प्वाल पर्यो । सिलाई दिने कल्ले ! ’
उता इनरुवा नगरपालिकाको कार्यालयले भने उक्त सडक पक्की नाला सहित कालोपत्रेको चरणमा भएकाले एकैसाथ काम सम्पन्न गर्ने तयारी गर्दा पछिल्लो अवस्था देखिन आएको जनाएको छ । उसले सडक निर्माण कार्य पूर्ण रुपले अघि बढ्न अझ केही समय लाग्न सक्ने देखिएकाले तत्काल देखा परेको समस्या समाधान गरी अघि बढ्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया