- दिपेन्द्र यादव

इनरुवा। सुनसरी सदरमुकाम इनरुवा स्थित रहेको मालपोत कार्यालयमा कर्मचारीहरुको लापर्वाही कारण सेवाग्राहीहरुले सास्ती व्यहोर्नु परेको सर्वसाधरणहरुले गुनासो गरेका छन् ।इनरुवा ३ स्थित रहेको मालपोत कार्यालयमा जग्गा सम्बन्धी विविध काम लिएर सर्बसाधारणहरुको आवागमन हुन्छ तर त्यहाँका कर्मचारीको लापर्वाही र ढिलासुस्तीका कारणले सेवाग्राहीहरुले सास्ती व्यहोर्नु परी रहेको छ ।

लकडाउन हुनुभन्दा अगाडी उल्लेख्य गतिमा सल्बलाउने मालपोत वरपर रहेका लेखापढी व्यवसायी पनि आजभोलि खासै व्यस्त देखिन्नन् । कर्मचारीलाई निश्चिय कार्य सम्पादनका लागी नियुक्त गरिन्छ तर मालपोतका कर्मचारीहरुको मनोमानी ढङ्ग देख्दा यस्तो लाग्छ कि यहाँ काम गर्न जतिखेर आए पनि हुन्छ । मालपोतमा फाँट मात्र देखिन्छ तर फाँटवाला कर्मचारी देखिन्नन् । मालपोत कार्यालय सुनसरीका कर्मचारी समयमा कार्यालय नआउने, आएका कर्मचारी समेत बिभिन्न चिया पसलमा बसेर गफ गर्न व्यस्त हुने र सेवाग्राहीको एक दिनमा हुने काममा समेत ३–४ दिन सम्म लागउने गरेको सेवाग्राहीको आरोप रहेको छ । मालपोत कार्यालय सुनसरीमा आएका कर्मचारी पनि सेवाग्राहीका काममा व्यस्त हुनुको साटो कार्यस्थलभित्र एकदम होहल्ला गरीरहेका हुन्छन्, किनकि कागज पत्रको व्यवस्थापन भद्रगोल छ ।

इनरुवा निवासी ५८ वर्षीय एक सेवाग्राहीले तीन कठ्ठा जग्गा विक्रीको प्रक्रिया अगाडि बढाउन आएको २ दिन भयो तर आज सम्म पनि जग्गा बिक्रीको काम पुरा भएको छैन । उनले गुनासो पोख्दै भने ‘यहाँ एकदमै ढिलासुस्ती हुन्छ, सानो कामको लागी पनि घरको काम माया मारेर दिनका दिन धाउनु पर्ने ।’ यो एक जना सेवाग्राही उदाहरण मात्र हुन् । यहाँ कर्मचारीको सानो सानो कुरामा पनि एक फाँटदेखि अर्को फाँटमा घुमिरहेका सेवाग्राहीहरु प्रशस्तै भेटिन्छन् ।

यस्तै मालपोत वरपर भएका लेखापढी व्यवसायीहरुले सेवाग्राही लवाई खवाईको आधारमा कामको पैसा लिने गर्छन् । हरेक लेखापढी गर्ने व्यवसायी पिच्छे एउटै काम गरेको रेट फरक फरक छ । मालपोतमा सर्वसाधारण आफैले मात्र सबै काम बुझेर गर्न सक्दैनन् किन कि मालपोतका कर्मचारीलाई समस्या लिएर आउने जनतासँग साक्षात्कार गर्ने फुर्सद नै नभएको जस्तो देखिन्छन् । त्यसैले हरेक सेवाग्राहीले एक जना लेखापढी व्यवसायीसंग हात फैलाउनै पर्ने हुन्छ ।

लेखापढी व्यवसायीहरु फाँटमा आफै रेकर्ड फाईल पल्टाउँछन् आफै छाँप लाउँछन् तर ग्रामिण भेगबाट आएका सर्वसाधारणलाई त्यो काम असम्भव जत्तिकै हुन्छ । ‘सर्वसाधारणले मागेको जानकारी त परै जाओस मालपोतका कर्मचारीहरु नमस्कार समेत फर्काउँदैनन्’ एक सेवाग्राहीले गुनासो पोख्दै भने । व्यवस्थापन फितलो भएको कारण शौचालयमा समेत सरससफाई नभई दुर्गन्धीत वातावरण बनेको मालोपोत्त कार्यालय सुनसरी । यस्तै बेतिथिमा चलिरहेको मालपोत कार्यालय सुनसरीको अवस्था कहिले सुध्रिएला त ? यहाँका सर्वसाधरणले जिल्ला मालपोत कार्यालय सुनसरीमा कार्यालय प्रमुख षडकुमार पोखरेलको आगमनपछी सुध्रिएला भन्ने अपेक्षा गरेको सपना सपनामै सिमित रहने अवस्था देखिएको छ ।

तपाईको प्रतिक्रिया