- टोमराज मेहता

इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले संविधानको रक्षा गर्न आवश्यक रहेको बताएका छन् । संविधान दिवसको अवसरमा नगर प्रमुख मेहताले यसो बताएका हुन् । इनरुवा नगरपालिकामा शनिवार सम्पन्न संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख मेहताले सबै जातजाति , धर्म, संस्कृति, रितिरिवाज र परम्परालाई सम्वोधन गरिएको वर्तमान संविधानको रक्षा गर्न सबैले भुमिका खेल्न आवश्यक रहेको बताएका छन् ।

इनरुवा नगरपालिकामा संविधान दिवस मनाउने क्रममा नगरपालिकाका नगर प्रमुख मेहताले वर्तमान संविधान मुलुकको उत्कृष्ट संविधान भएकोले सबैले आ आफनो ठाउँबाट रक्षा गर्न आजको आवश्यकता भएको महसुस गर्नुपर्ने बताए । ७० वर्ष पछि नेपाली जनताले चुनेर पठाएको जनप्रतिनिधिबाट लेखिएको संविधान असोज ३ गते पाँच वर्ष पुरा भएको अवसरमा सबै नागरिकले खुशी मनाउनु पर्ने समेत उनले बताए । नेपालको जस्तो संविधान बिश्वमा कतैपनि नभएको ब्याख्या गर्दै “उनले भने नेपालको संविधान जनताबाट चुनिएका जनप्रतिनिधिहरुबाट लेखिएको संविधान हो , संविधानले सबैको मर्म र भावनालाई समेटेको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएकोले प्रत्येक वर्ष संविधान दिवस मनाउँदै आएको भएपनि यस वर्ष संविधान दिवसको अवसरमा नगरपालिकाका कर्मचारीहरुसँग संविधान दिवस मनाएको उनले बताए । कोरोनाको बढ्दो जोखिमलाई ख्याल गर्दै धेरै भीडभाड नगरीकन नगरपालिकाकै कर्मचारीहरुसँग संविधान दिवसमा अवसरमा प्रमुख मेहताले झण्डोतोलन समेत गरेका थिए । बिभिन्न कालखण्डमा संविधान परिर्वतन भएपनि पाँच वर्ष अघि आएको संविधान नै उत्कृष्ट भएकोले सम्मान गर्नुपर्नेे उनको ठहर छ । देश निर्माण र विकासमा जनताको ठूलो योग्दान भएको महसुस गर्दै उनले भने सवैधानिक ब्यवस्था अनुसार नै आफु नगरप्रमुख भएको दाबी गरें । नेपाली दाजुभाई तथा दिदिबहीनीहरुमा सुख, शान्ति, प्रगतिका साथै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्ष सहकार्य, एकता एवंम् आपसी सद्भावको भावना विकास हुन सकोस भनि नगर प्रमुख मेहताले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुलुकमा जारी भएको संविधान अनुसार तीनै तहका सरकार निर्माण भएकोले राष्ट्रप्रति इमान्दार भएर काम गर्नुपर्ने नगर प्रमुख मेहताको भनाई थियो । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । “सेवाग्राहीहरुलाई हेप्ने होइन् बरु छिटो सेवा प्रवाह गरी सहयोग गर्नुपर्छ” नगरप्रमुख मेहताको भनाई छ । सेवाग्राहीहरुलाई राम्रो बोल्ने , राम्रो ब्यवहार गर्ने र छिटो छरितो सेवा प्रवाह गर्न कुनै आलटाल गरेको पाइएमा आफुले जुन सुकै कार्वाही गर्न नचुक्ने समेत मेयर मेहताले सो अवसरमा कर्मचारीहरुलाई इंगित गर्दै स्पष्ट पारे । उनले वर्तमान संविधान प्रति जनताको बिश्वासलाई मजबुत बनाउन जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी जनमुखी बन्नुको बिक्लप नरहेको हुदाँ जनपक्षीय कर्मचारी प्रशासन र जनतामाथि उत्तरदायि जनप्रतिनिधि बन्न सबैलाई सुझाए ।

नगर प्रमुख मेहताले संविधान अनुसार मतदान गर्ने अधिकार जनताले प्रयोग गरेकै कारण आफु प्रमुखको कुर्सीमा बसेकाले जनतालाई जर्नादन भन्दै कसैलाई आनाकानी नगरी चुस्तद्रुस्त सेवा प्रवाहमा कुनै कमी नराखी जनताप्रति उत्तरदायि बन्न आग्रह गरेका छन् । जनताको सेवा गर्ने जिम्मेवारी भएकोले गुनासो सुनी समस्या समाधान गर्न तर्फ अग्रसर हुन आवश्यक रहेको बताउँदै नगर प्रमुख मेहताले सेवा लिन आउने सेवाग्राहीलाई भेदभाव नगरीकन पहुँचको अधारमा सेवा नदिई समान तरिकाले सबैलाई सेवा उपलब्ध गराउन नगरपालिकाका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

तपाईको प्रतिक्रिया