- राजन निरौला

इनरुवा । सुनसरीका कोशी बाढी पीडितका समस्या समाधान गर्नका लागि सरकारलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् । कोशी बाढी पीडित संघर्ष समिति सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । समितिले आफ्ना ११ सुत्रीय माग राख्दै सुनसरी प्रशासन मार्फत प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताए ।

२०६५ भदौ २ गते तत्कालिन पश्चिमकुशाहा –४ स्थित स्पर नम्बर १२ दशमलव १० र १२ दशमलव ९० भत्काउदा हरिपुर, श्रीपुर, पश्चिकुशाहा र अहिलेको कोशी गाउँपालिकाका ३, ४, ५, ६, ७ र ८ नम्वर वडा पूर्ण रुपले प्रभावित भएका थिए । बाढीबाट त्यस क्षेत्रका सयौ घरपरिवार विस्थापित हुदा पनि पीडितले पाउनुपर्ने क्षतिपूर्ति अहिलेसम्म नदिएको भन्दै क्षतिपुर्तिको माग गर्दै कोशी बाढी पीडित संघर्ष समिति सुनसरीेले सरकारलाइ ज्ञापनपत्र बुझाएको संघर्ष समितिका अध्यक्ष मण्डलले बताए ।

समितिले २१ सय विगहा जग्गाको क्षतीपूर्ति दिनुपर्ने, १८ सय विगहा जग्गाको बालीको क्षतीपूर्ति दिनुपर्ने, ३ हजार ३ सय ७० पीडित परिवार मध्ये १८ सय पीडित परिवारले पाउनुपर्ने घरफिर्ती वापतको ५५ हजार ७ सय के.वी. फिट सखुवाको काठ उपलब्ध गराउनुपर्ने, ५ सय ५० सुकुम्बासी परिवारको जग्गा खरिद गर्नुपर्ने लगायतका माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको संघर्ष समितिका कोषाध्यक्ष भुवनेश्वर यादवले बताए । त्यसैगरी कोशी बाढीका बेला त्यस क्षेत्रका जग्गा वगरमा परिणत भएकाले सिचाईको व्यवस्था गर्नुपर्ने, हरिपुर शाखा नहर निर्माण गरेर पैनीको व्यवस्था मिलाउनुपर्ने, कोशी टप्पु वन्यजन्तु आरक्षलाई घेराबेरा गर्नुपर्ने, कोशी नदी आरक्षबाट हुने सुविधा स्थानीयवासीले पाउनुपर्ने लगायतका माग गर्दै ज्ञापनपत्र बुझाएको समितिका सचिव वाजुद्धिन मन्सुरीले बताए ।

ज्ञापनपत्र बुझ्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सम्बन्धित निकायमा तुरुन्तै ज्ञापनपत्र पठाइदिने प्रतिवद्धता व्यक्त गरेका छन् । कोशी पीडितको माग सुनुवाई नभए संघर्षका थप कार्यक्रम गर्ने समितिका अध्यक्ष मण्डलले चेतावनी दिएका छन् । सरकारले आजभोली गर्दा गर्दै १२ वर्ष बित्दा समेत माग पुरा नभएकाले तत्तकाल आफूको माग सम्बोधन नभए कोशी पीडित अब चुप लागेर नबस्ने समितिका अध्यक्ष मण्डलले बताए ।

तपाईको प्रतिक्रिया