नोबेल शिक्षण अस्पताल विराटनगरले सोमबारबाट पिसिआर परीक्षण सुरु गरेको छ। सरकारले तोकेको भन्दा ४५० रुपैयाँ कम शुल्कमा पिसिआर परीक्षण नोबेलले गर्ने भएको हो। सरकारले निजी अस्पतालले पिसिआर परिक्षण गरेबापत २ हजार शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

नोबेल शिक्षण अस्पताल प्रदेश एकमा पिसिआर परीक्षण अनुमति पाउने पहिलो अस्पताल बनेको छ । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाइ भइरहेका बेलामा सर्वसुलभ शुल्कमा पिसिआर परीक्षण सुरु गरेको बताए।

परीक्षणको अनुमति पाएसँगै सोमबारबाट परीक्षण थालिएको सञ्चालक डा. शर्माले बताए। नोबेलले एक महिनाअघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो। तर, सरकारबाट एक महिनापछि मात्रै परीक्षण अनुमति मिलेको डा. शर्माले जनाएको छ।

कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरिकन पिसिआर मेसिन ल्याएको जनाएको छ। उसले सुरक्षित तवरले परीक्षणका लागि नोबेलले बेग्लै ल्याब निर्माण गरेर पीसीआर परीक्षण थालेको बताएको छ। नोबेलमा दुई वटा पिसिआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका वरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंहले बताए। सिंहका अनुसार ४ देखि ६ घण्टा भित्रै रिपोर्ट प्राप्त हुनेछ।

तपाईको प्रतिक्रिया