- अमर काफ्ले

इनरुवा। पुजाको लागि भनी भारत तर्फ लैजादै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उद्दार गरिएको छ । सुनसरीका प्रहरी प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजादै गरिएको अवस्थामा भारतसँग सीमा जोडिएको सुनसरीको भाण्टाबारी नाकाबाट उद्दार गरिएको हो ।

कार्कीका अनुसार नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट उनीहरुको उद्दार गरेको हो । शंका लागि सोधखोज गर्ने क्रममा किशोरी संगै रहेका २ पुरुषलाई अनुसन्धानकालागि नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । प्रवक्ता कार्कीका अनुसार उद्दार गरिएकामा १९ वर्षीया किशोरी सँगै अन्दाजी २२ वर्षकी अर्की किशोरी समेत छिन् । प्रहरीले किशोरी सँगै रहेका २ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका एक पुरुषले भने प्रहरी समक्ष आफु किशोरीको आफन्त रहेको बताएका छन् ।नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पुजाको लागि भारत लैजाने सहमति अनुरुप आफु उनीहरुको सुरक्षाकाको लागि संगै आएको भनी प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । यद्यपि सो विषयमा समेत अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार उद्दार गरिएका युवतीहरुले आफुहरुलाई सिमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पुजाकालागि भनेर ल्याइएको प्रहरी समक्ष बताएका छन् । उनीहरुले प्रहरीलाई जानकारी गराए अनुसार भारत तर्फ लैजानु पूर्व उचाई समेत नापिएको थियो । त्यसैगरी हातको रेखा समेत हेरी पुजाका लागि योग्य भनि ठहर गरिएको थियो । प्रहरीलाई उनीहरुले दिएको जानकारी अनुसार सिमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पुजामा ध्यानमा बसे वापत १,२ लाख रकम दिने भनिएको थियो । किशोरीहरुलाई पुजामा ध्यानमा बस्ने सर्तमा लगेको देखिएकाले उनीहरुलाई बलीका लागि लगिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीको परिवारलाई आर्थिक प्रलोभन देखाई पुजाकालागि भनी भारत तर्फ लैजादै गरिएको देखिन आएको छ । प्रवक्ता कार्कीका अनुसार चौधरी थर भएका युवतीहरु निकै सोझा छन् । नियन्त्रणमा रहेका पुरुष र उनीहरुको संलग्नता सहित घटनाको विषयमा थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले किशोरीसँगै रहेका सप्तरीका साहिल मन्सुरी र सिरहाका जिवन साहलाई अनुसन्धानकालागि नियन्त्रणमा राखेको राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया