जनकपुरधाम। नेपालको कुर्था देखि भारतको जयनगरसम्म चल्ने रेलको विभिन्न २९ वटा पदको लागि ३२ हजार जनाले आवेदन दिएका छन्। ६ वर्षभन्दा बढी समयदेखी बन्द रहेको रेल सेवा पुनः सञ्चालनमा आउने भएपछि नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदको लागि १ सय २९ जना करारमा कर्मचारी माग गर्दा ३२ हजारले अनलाईन आवेदन दिएको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए।

कम्पनीले गत भदौ २९ गते करारमा कर्मचारी भर्नाको लागि १५ दिने विज्ञापन आह्वान गर्दा असोज १२ गते सम्ममा ३२ हजार युवायुवतीहरुले अनलाईन फर्म भरेका छन् । कम्पनीले अधिकृत तृतिय स्तर देखि श्रेणी विहिन सम्मको लागि विज्ञापन आह्वान गरेको थियो। कम्पनीका महानिर्देशक भट्टराईले कर्मचारी नियुक्तिमा कुनै प्रकारको सोर्स अथवा पैसाको लेनदेन नहुने जनाएका छन्। उनले करारमा कर्मचारी नियुक्त गर्ने भनेपछी जीएम, मन्त्री, सांसद, नेताले भनेपछी फटाफट नियुक्त हुन्छ भन्ने बिश्वास रहेकोमा यस्तो भ्रम नराख्नु आग्रह गरेका छन्।

सरकारले स्वीकृत गरेको बिधि अनुरुप शैक्षिक योग्यताका आधारमा कम्पनीको आवश्यक संख्या भन्दा ३ गुणा भन्दा बढीको आवेदकको नाम मेरिटका आधारमा प्रकाशित गरिने र तिनीहरुको अन्तरवार्ता लिएपछि उत्कृष्ट १ सय २९ जनाको अन्तिम नामावली प्रकाशित गरिने जानकारी दिए। कम्पनीले शाखा अधिकृत, कानून अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्पयुटर अपरेटर, क्यासियर, टिकट बिक्रेता सहायक, टिकट कलेक्टर, ट्रयाक निरीक्षक, फोरम्यान, अमिन, रेल गार्ड लगायत २९ वटा पदको लागि विज्ञापन आह्वान गरेको थियो।

कम्पनीले यस विज्ञापनबाट एक करोड भन्दा बढी राजस्व समेत संकलन गरेको छ । कम्पनीले अधिकृत स्तरको विज्ञापनको लागि १ हजार, सहायक स्तरको लागि ४ सय र श्रेणीविहिन स्तरको लागि ३ सय दस्तुर तोकेको थियो। औषतमा ४ सयको दरले पनि राजस्व संकलन भएको भए कम्पनीले १ करोड २८ लाख राजस्व संकलन गरेको छ। असोज २ गते भारतबाट जनकपुरधाम आएको दुई सेट रेल अहिले धनुषा जिल्लाकै जनकनन्दिनी गाउँपालिकाको इनरवामा सुरक्षाकर्मीहरुको निगरानीमा राखिएको छ। देशसञ्चारको सहयोगमा

तपाईको प्रतिक्रिया