काठमाडौं। अनसनरत डाक्टर गोविन्द केसीका तर्फबाट सरकारसँग वार्ता गर्न टोली गठन भएको छ। चिकित्सा क्षेत्र सुधारको माग राख्दै आएका डा. केसीको तर्फबाट जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको हो। टोलीका सदस्यहरुमा डा. अन्जनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल रहेका छन्।

सरकारले वार्ता टोली बनाएलगत्तै डाक्टर केसीले पनि टोली घोषणा गरेका हुन्। यसअघि उनले सरकारले औपचारिक वार्ता टोली गठन गरेमात्र छलफलमा बस्ने बताउँदै आएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली संयोजक रहेको तीन सदस्यीय टोली सरकारले बनाएको हो। शिक्षा मन्त्रालयका अनुसार टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दीलिप शर्मा सदस्य छन्। बुधबार डाक्टर केसीको जीवन जोखिममा पर्दासमेत वार्ताका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया