- दिलिप कुमार साह

राजविराज। राजविराजको जनआन्दोलन चोकमा रहेको माँ दुर्गे ट्रेडर्सबाट तीन दर्जन म्याद गुज्रिएको वियर बजार अनुगमन समितिले बरामद गरेको छ । बिक्रीको लागि तयारी अवस्थामा राखेको म्याद गुज्रिएका तीन दर्जन बियर संयुक्त बजार अनुगमन टोलीले बिहीबार बरामद गरिएको वियरको बोतल पसल अगाडि नै नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिनुभयो ।

अनुगमन टोलीले माँ दुर्गे ट्रेडर्सबाट टुबोर्ग बियर सात बोतल, किग्सफिसर १३ बोतल, टुबोर्गको क्यान आठ वटा बरामद गरेर नष्ट गरेको छ । ट्रेडर्समा बिक्रीको लागि राखिएको अवस्थामा बियरको बोतल बरामद गरेको अनुगमन टोलीका सदस्य उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिनुभयो ।टोलीले कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने र चाडपर्वको समयमा उपभोक्ता ठगिनबाट बचाउनको लागि राजविराज नगरका पसलहरुको अनुगमन तीब्र पारेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।त्यसैगरी पूजा किराना स्टोर्समा कसमिरी मिर्च २१ पोका, मसला १० पोका, नूर फ्रुट एण्ड जेनरल स्टोरमा १० पोका गुहुँको पिठो म्याद गुज्रिएको अवस्थामा बरामद गरी नष्ट गरेको बताइएको छ ।

नागमणी किराना पसल, लाल ट्रेडर्स, इब्राहम स्टोर्स, हक जनरल स्टोर्स, कोकाइ साह गोपाल साह ट्रेडर्स लगायत एक दर्जन पसलहरुमा अनुगमन गरेको छ । अधिकाँश पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभलगायतमा ध्यान नदिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सिंहले जानकारी दिनुभयो ।बजार अनुगमनका क्रममा मूल्यसूची र साइनबोर्ड नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको सिंहले जानकारी दिनुभयो । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको कथन थियो ।सप्तरी उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीलाई देखेपछि धेरै पसलहरु बन्द गरी भागेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले उक्त सामान बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया