- अमर काफ्ले

इनरुवा। आइतबारबाट विद्यालय संचालनमा ल्याउन पाइने भन्ने हल्ला निराधार रहेको सुनसरी प्रशासनले जनाएको छ । विद्यालय खोलेर बढीमा १५ जना विद्यार्थी उपस्थित रहन सक्ने गरी कक्षा ८,९ र १० को पढाई संचालन गर्न पाउने भनि फैलिएको हल्लामा सत्यता नरहेको प्रशासनले स्पष्ट पारेको छ । विभिन्न अनलाइन र सामाजिक सञ्जालमा आएका सुनसरीमा विद्यालय खुल्ने भन्ने आशयका समाचार प्रति ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशासन कार्यालयले सुनसरीले उक्त कुरामा सत्यता नभएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भन्नु भयो, ‘दिनानुदिन सुनसरीमा कोरोनाको जोखिम बढ्दो क्रममा छ । विद्यालय खोलेर संचालनमा ल्याउनु खतरा निमत्याउनु सरह हो । त्यसैले सम्भावित जोखिम मोल्नु ठुलो भुल हुन सक्छ । अहिले सम्म त्यस्तो कुनै निर्णय गरिएकै छैन् ।’ प्रजिअ पोखरेलका अनुसार प्रशासनमा बसेको कोभिड रोकथाम तथा नियन्त्रण समितिको बैठकले दुर शिक्षा कार्यक्रम मात्र संचालन गर्न पाइने भनि निर्णय गरेकाले सोही अनुरुप मात्र गर्न पाइने छ । पोखरेलले भने विद्यालय खोलेर संचालनमा ल्याएको पाइए कार्वाही गर्ने छौं ।

तपाईको प्रतिक्रिया