- अमर काफ्ले

जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाको जोखिम बढेको भन्दै सावधानी अपनाउन जिल्लावासीमा आग्रह गरेको छ । प्रशासनले जिल्लामा भीडभाड हुने कार्यक्रम आयोजना हुन थालेको भन्दै त्यस्ता कुनैपनि गतिविधि तत्काल संचालनमा नल्याउन आग्रह गरेको छ ।प्रशासनले भनेको छ ,‘कोरोनाको जोखिम बढ्दै जाँदा बजारमा भीड बढेको छ । स्वास्थ्य मापदण्डको ख्याल नगरी संचालित व्यापार व्यवसाय सँगैको असावधानीले समुदायमा संक्रमण बढ्दो छ । त्यसैले सबैको साथ र सहयोगको खाँचो छ ।’प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको हस्ताक्षर सहित जारी सुचनामा राजनीतिक दलहरुले आयोजना गर्दै आएका सभा सम्मेलन र भीडभाड युक्त कार्यक्रमले कोरोनाको जोखिम बढाएको उल्लेख छ ।’

सुचना बारेमा जानकारी दिदै प्रजिअ पोखरेलले भन्नुभयो कोरोनाको कारण जिल्लाको अवस्था दिनानुदिन भयावह बन्दै छ । प्रहरी र प्रशासनले मात्र महामारी नियन्त्रणमा लिन असम्भव छ । त्यसैले सबै पक्षले आ–आफ्नो तर्फबाट सहयोग गरौं ।सुनसरी प्रशासनले विद्यालय, कलेज, ट्यूसन, तालिम केन्द्र, शैक्षिक र अन्य परीक्षा, सबै प्रकारका सभा,गोष्टी, तालिम, सेमिनार, प्रर्दशन, भेला तथा सम्मेलन आयोजना नगर्न भनेको छ । उसले भीडभाड हुने अन्य गतिविधि समेत संचालनमा नल्याउन भनेको छ ।प्रशासनले जिल्लामा संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको भन्दै अटेर गर्ने क्रम जारी रहे संक्रमण थप बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक्ता अनुसारको निर्णय समेत लिन सकिने संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया