- अमर काफ्ले

कोशी टप्पु वन्यजन्तु आरक्ष हाता भित्र पाइने कच्चा पदार्थबाट हाते सामग्री निर्माण गरी त्यसको बजारीकरणमा जोड दिन थालिएको छ ।आरक्षको प्रचार गर्ने उद्येश्यले स्थानीय उत्पादनको प्रर्वद्धनमा जोड दिन थालिएको हो ।स्थानीयको कला र हाते सीपका माध्यमबाट उत्पादित सामग्रीको बजार विस्तारमा जोड दिदै यतिबेला त्यस्ता सामग्रीको उत्पादन बढाउन थालिएको छ ।

उक्त काममा २५ जना महिलालाई रोजगारी समेत दिइएको छ । रोटरी क्लब बाट प्राप्त सहयोग सामग्रीको उपयोग गर्दै महिलाहरु पटेर सँगै अन्य झार र घाँसबाट बन्ने सामग्री उत्पादनमा जुटेका छन् ।बजार निकै राम्रो भएकाले समेत ति र त्यस्ता सामग्रीको माग निकै रहेको पटेर प्रशोधन केन्द्र समितिका संयोजक अशोक कुमार साहले बताए । साहका अनुसार उत्पादित सामग्री स्थानीय बजारसँगै मुलुकका विभिन्न शहर सम्म पुग्ने गरेको छ । जहाँ लोकल ब्राण्डको माग अत्याधिक छ ।त्यसका अलावा अन्तराष्ट्रिय बजारमा समेत स्थानीय उत्पादन निर्यात हुने गरेको साहले बताए । साहका अनुसार प्रशोधन केन्द्रमा तयार भएका सामान काठमाण्डौंमा लगेर आवश्यक डिजाइन दिइनुका साथै प्याकिङ गरेर बिदेश निर्यात गर्ने गरिएको छ ।
बिदेशमा राम्रो मूल्य पाइने भएकाले समेत स्थानीय उत्पादनलाई बढावा दिन आवश्यक ठानी प्रशोधन तथा बजारिकरण केन्द्र संचालनमा ल्याएको उनले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको हाता भित्र हात्तिसार सँगै रहेको प्रशोधन केन्द्रमा कार्यरत महिलाहरुले दैनिक रुपमा गुन्द्री,चकटी,कुसन,व्याग,पर्स,ढक्की र मुडा लगायतका सामान निर्माण गर्दै आएका छन् । जसका लागि केन्द्रले आरक्ष भित्र खेर गईरहेका सिमसारजन्य झारपात र घाँसको सदुपयोग गर्रे गरेको छ ।पटेर, जलकुम्भी, काँस र मोथे झार जस्ता रेसादार कच्चा पदार्थबाट तयार पारिएका सामानहरु नेपाली बजारका अलावा अन्तराष्ट्रिय बजारमा समेत बिक्रि हुने गरेको होटल व्यवसायी सुरज गिरी बताउँछन् ।अक्वा ईको टुरिष्ट रिर्सोटका प्रवन्धक समेत रहेका गिरीले त्यस्ता सामग्रीको उत्पादन र त्यसको बिक्रि वितरणले कोशी टप्पु आरक्षको समेत प्रचार प्रसारमा टेवा पुग्ने बताए ।आफु सहितका पर्यटन व्यवसायीको समूहले स्थानीय उत्पादनको प्रचारसँगै त्यसको बिक्रिका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको गिरीले बताए ।उनले स्थानीय उत्पादनलाई आरक्ष घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकलाई लक्षित गरी सजाएर राख्ने गरेको बताए । त्यस्ता सरसामान पर्यटकहरुले मायाको चिनोको रुपमा किनेर लैजाने गरेको उनले बताए ।

संचालक समूहले सरदार र बाँतर समुदायका महिलाहरु मार्फत उत्पादन गरेका सामग्र्रीलाई चिनो पसल संचालनमा ल्याई बिक्रिका लागि राखेको छ । उक्त पसलको औपचारिक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ ।महिलाहरुद्वारा निर्माण गरिएका सरसामानमा आरक्षको प्रमुख पहिचानको रुपमा रहेका अर्ना सँगै हात्तिको चित्र अंकित गर्ने गरिएको छ । जसका कारण समेत घुम्न आउने पर्यटकले कोशी टप्पुको चिनोको रुपमा त्यस्ता सामग्री सहजै किनेर लैजाने गरेको आरक्षको कार्यालयले जनाएको छ । जसमा कार्यालयको समेत साथ र सहयोग रहँदै आएको आरक्ष प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया