- अमर काफ्ले

इनरुवामा चिकित्सक सहित नेता सम्म कोरोना संक्रमित पाइएका छन् । केहि दिन अघि इनरुवा अस्पतालबाट स्वाब संकलन गरिएको २० जना मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आउँदा डाक्टर र नेता समेत संक्रमित पाइएका हुन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इनरुवा अस्पतालमा कार्यरत डाक्टर सहित प्रशासन प्रमुखमा कोरोना पुष्टि भएको छ ।कार्यालयका अनुसार स्वाब संकलन गरिएका मध्ये अर्का एक डाक्टरको रिपोर्ट पूनः परीक्षणको क्रममा छ । अन्य केहि अस्पतालका कर्मचारीको समेत रिपोर्ट आउन बाँकी छ ।कन्ट्याक्ट ट्रेसिङको सूचि लम्बिने देखिएपछि अस्पताल प्रशासनले अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने तयारी थालेको छ ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीले चिकित्सक सहितका अन्य कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुँदा सेवा प्रवाह अन्यौलमा परेको बताए ।राजभण्डारीका अनुसार ट्रेसिङमा पर्नेको संख्या बढ्न सक्ने देखिएको छ ।सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहि सेवा दिने कार्यालय भएकाले समेत सम्भावित जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने विषयमा छलफल पछि निर्णय लिइने उनले बताए ।यसैगरी अस्पतालबाट स्वाब परीक्षण गराएका नेकपा सुनसरीका अध्यक्ष योगेन्द्रप्रसाद मण्डलमा समेत कोरोना देखिएको छ । मण्डल स्वयंले आफुमा संक्रमण देखिएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । अन्य संक्रमितमा कर्मचारीका परिवार समेत छन् ।

 

तपाईको प्रतिक्रिया