- अमर काफ्ले

दशैं मनाउन घर फर्कनेहरुको इनरुवा नगरपालिकाको कार्यालयले रेकर्ड राख्ने भएको छ । उसले दशैंमा घर फर्कनेहरुको सवालमा निगरानी गर्ने भएको छ ।समुदायमा कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाको कार्यालयले बाहिरबाट घर फर्किनेहरुको लगत संकलन गर्ने तयारी थालेको छ ।

नगरपालिकाको कार्यालयले चाडबाडको समयमा हुन सक्ने भीडभाड र अव्यवस्थित आगमनलाई ध्यानमा राख्दै स्वास्थ्य सावधानीको उपायका रुपमा निगरानी बढाउन लागिएको जनाएको छ ।घर फर्किनेहरुको सवालमा नगर प्रवेशका नाकाहरुमा हेल्थ डेस्क सहितको टिम खटाईने र उनीहरुको स्वास्थ्य अवस्था लगायतका परिचय खुल्ने विवरण दुरुस्त राखिने नगर प्रमुख राजन मेहताले बताए ।मेहताका अनुसार घर आउनेहरुले पीसीआर परीक्षण गरे नगरेको, स्वास्थ्यमा कुनै समस्या भए नभएको र कति दिन बस्ने जस्ता विवरण भरेर मात्र गनतब्यमा जान दिइने छ । गाउँमा पुगिसकेकाको हकमा भने वडा कार्यालयले अनुगमन गरी विवरण संकलन गरेर नगरलाई बुझाउनु पर्ने छ ।

नगर प्रमुख मेहताले भने, ‘समुदायमा भुसको आगो सरह कोरोना फैलदो छ । पीसीआर परीक्षणको दायरा खुम्चिएकाले जोखिम बढाएको छ ।त्यसैले चाड मनाउन घर फर्कनेले कोरोना भित्र्याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सावधानी सहितको नगर स्तरीय मापदण्ड लागु गर्नु आवश्यक बनेको छ । जसको पालनामा सबैको साथको खाँचो छ ।’

नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सन्तोष देवका अनुसार चाड मनाउन घर फर्किनेहरुको रेकर्डसँगै उनीहरुको बसोबासको अवस्थाका बारेमा समेत निगरानी गर्ने गरी रणनीति बनाउन लागिएको छ । जस अन्र्तगत घर फर्किएकाहरु होम आइसोलेसनमा बसे नबसेको यकिन गरिने छ ।नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार विषम परिस्थितिबाट मुलुक गुज्रिरहेको अवस्थामा सबैको साथ र सहयोग चाहिएकाले स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने सवालमा हेलचेक्राई गरेको पाइए ऐन बमोजिम कार्वाही गरिने छ । त्यस्ता व्यक्ति र तिनका परिवारको हकमा नगरपालिकाले दिने सेवा र सुविधामा रोक लगाइने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया