- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं / सुनसरीको इनरुवामा निषेधाज्ञाका बाबजुद फुटबल प्रतियोगिता आयोजना भैरहेको पाइएको छ ।सुनसरी प्रशासनले केहि दिन अघिमात्रै जिल्लाभर लागु हुने भनि निषेधाज्ञा जारी गरेको थियो । जसमा भीडभाड हुने विभिन्न क्षेत्र तोकी छठ पर्व सम्म निषेधाज्ञा कायम रहने उल्लेख छ ।

प्रशासनले जारी रहेको निषेधाज्ञा सम्वन्धि सुचनामा स्पष्ट उल्लेख छ, ‘समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने कुनै पनि कार्यक्रम गर्न पाइने छैन्’ । जसको स्थानीयले पालना गरेका छैनन् । स्वयं सम्वन्धित निकाय समेत बेखबर देखिएको छ ।इनरुवा ६ मधेशामा संचालित नक आउट फुटबल प्रतियोगितामा सितपुर, अकाहा, मधेशा, सखुवागाछी, बलाहा, इनरुवा, झुम्का, इटहरी र सैनीमैनी समेतको गरी १० वटा टिमको सहभागितामा खेल भैरहेको छ ।

आश्चर्यजनक कुरो त के भने उक्त फुटबल प्रतियोगिता सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख रहने अड्डा नजिकैको क्षेत्रमा संचालित छ ।
फुटबल प्रतियोगिता निर्वाध संचालनमा रहँदा खेल खेलाउन स्थानीय तहले सहयोग उपलब्ध गराएको जस्ता विषय समेत बाहिरिएका छन् । महामारीका बिच प्रतियोगिता आयोजना गरिनुलाई धेरैलै लापरवाही भनेका छन् । प्रहरी प्रशासनको आँखा नपुगेको या वेवास्ता गरिएको हो । सो विषयमा भने स्थानीय अन्यौलमा देखिएका छन् ।उता आयोजक मधेशा युवा क्लब भने प्रशासनको सहमतिमा प्रतियोगिता आयोजना गरिएको बताउँछ । आयोजकका अनुसार प्रशासनले भीडभाड नहुने गरी छिटो फुटबल सक्नु भनेको छ ।यता सुनसरी प्रशासनले भने प्रतियोगिताको विषयमा कुनै जानकारी नरहेको बताएको छ । प्रजिअ फणिन्द्रमणि पोखरेलले निषेधाज्ञाको अवधिमा कुनैपनि त्यस्ता गतिविधि गर्न छुट नहुने बताए । उनले फुटबल प्रतियोगिता रोकाइने बताए ।



तपाईको प्रतिक्रिया