- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं/ गढी गाउँपालिकामा रक्तदान सँगै प्लाज्मा संकलन थालिएको छ । गाउँपालिकाको कार्यालयले संक्रमण पुष्टि भई निको भएका मध्ये प्लाज्मा संकलनका लागि योग्य ठहरिएका व्यक्तिहरुबाट रगत संकलन गरिएको जनाएको छ । कोरोनाको बढ्दो संक्रमण सँगै समुदायमा संक्रमित संख्या थपिदै जाँदा सिकिस्त बिरामीको उपचारमा सहजता दिलाउन प्लाज्मा संकलन थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

समाजमा संक्रमितलाई हेर्ने दृष्टिकोण बदल्न समेत प्लाज्मा संलकन कार्य महत्वपूर्ण रहने कार्यालयको ठहर छ । महामारीको समयमा प्लाज्मा दानको कार्यले आपसमा आत्मियता बढाउनुका साथै सिकिस्त संक्रमितको हकमा जिवनदान दिलाउने सम्मको काम गर्ने गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले गढी गाउँपालिकाको औराबनी स्थित सामुदायिक भवनमा प्लाज्मा संगै रक्तदान कार्यक्रम समेतको अयोजना गरेको थियो । सो कार्यक्रममा ७ जना संक्रमण मुक्त भएका व्यक्तिले प्लाज्मा र ३० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक लायन प्रमोद कुमार चौधरीले जानकारी दिए ।

गाउँपालिकाको प्रशासकीय अधिकृत समेत रहेका चौधरीले कोरोनाको समयमा रगत दिनेको संख्यामा कमी देखिएकाले रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको बताए । उनले कोरोनाका सिकिस्त बिरामीको उपचारमा सहयोग पुर्याउने उद्येश्यले प्लाज्मा संकलन थालिएको बताए । संक्रमण मुक्त भएकाहरुको आत्मसम्मान बढाउनका साथै सामाजिक दृष्टिकोण परिवर्तन गर्न र संक्रमितको उपचारमा सहयोग पुर्याउन प्लाज्मा संकलनको कार्यलाई तिव्रता दिइने कार्यक्रम संयोजक चौधरीले बताए ।

गाउँपालिकाको सहयोगमा लायन्स क्लबले आयोजना गरेको उक्त कार्यक्रम नेपाल रेडेक्रस सोसाइटी सुनसरी सँगको समन्वयमा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा सहभागि माझ आयोजकले कोरोना सचेतना र अपनाउनु पर्ने सावधानी जस्ता विषयमा  जानकारी समेत बाँडेको थियो । कार्यक्रममा उप प्रमुख राजकुमारी चौधरीका साथै स्त्री तथा प्रसुती रोग विशेषज्ञ बालकृष्ण साह लगायत क्लबका पदाधिकारी सहितको उपस्थिति रहेको गाउँपालिकाका लेखा अधिकृत दिल बहादुर खड्काले बताए । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गढीमा पछिल्लो अवस्था सम्ममा संक्रमित हुनेको संख्या ४० जना रहेको छ । जसमध्ये अधिकांश निको भैसकेका छन् ।

संक्रमित भई रिपोर्ट नेगेटिभ आएका १८ वर्ष माथिका व्यक्तिले प्लाज्माको लागि १५ देखि ६० दिनको अवधि भित्र रगत दिन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । उनीहरुका अनुसार त्यसरी संकलित रगतलाई प्रयोगशालाबाट प्याज्मा छुट्याएर सिकिस्त संक्रमितको उपचारमा प्रयोगमा ल्याउने गरिन्छ । जसले संक्रमितमा रोग संग लड्ने क्षमताको बिकास गर्ने छ ।



तपाईको प्रतिक्रिया