- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं / धुलोका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै इनरुवा २ का स्थानीयले अबिलम्ब सडक कालोपत्रेको माग गरेका छन् ।लामो समय बित्दा समेत सडक कालोपत्रे नगरिएको भन्दै स्थानीयले बिरोध स्वरुप सडकमा टायर बालेर अवरोध समेत गरेका छन् । सो क्रममा उनीहरुले केहिबेर इनरुवा जिसस सडक खण्डमा सवारीका साधन संचालनमा रोक समेत लगाएका थिए ।

अघिल्लो दिन सांकेतिक बिरोध जनाएका पपुलर चोक आसपासका स्थानीयले आज बिहान पूनः सो खण्डमा टायर बालेर प्रर्दशन गरेका हुन् । सो क्रममा उनीहरुले कालोपत्रेको लागि सडक तयारी अवस्थामा रहँदा समेत निर्माण सम्पन्न नगराएको भन्दै नगरपालिकाको आलोचना गरे ।स्थानीय युवा दिलिप साहले नगरपालिकाको कार्यालय सामू सडक कालोपत्रेको लागि पटक पटक माग गर्दा समेत सुनुवाई नभएकाले दबाबमूलक कार्यक्रममा उत्रनु परेको बताए । ठेकेदार कम्पनीलाई नगरपालिकाको कार्यालयले उक्त खण्ड अबिलम्ब कालोपत्रे गर्न लगाइनु पर्ने आफुहरुको माग रहेको साहको भनाई छ ।

सदरमुकामलाई दक्षिणी भेगसँग जोड्ने व्यस्त सडक भएका कारण समेत उक्त खण्ड छिटो कालोपत्रे गरिनु पर्ने स्थानीयको माग छ । उनीहरुले दैनिकी सवारीसाधनको चापसँगै धुलो र धुँवाका कारण सडक छेउका बासिन्दाको स्वास्थ्यमा गम्भिर असर पर्न थालेको बताएका छन् ।

उता बिहानको समयमा सडक अवरुद्ध पारेका स्थानीयलाई प्रहरीले हटाएको थियो । टायर बालेर सडकमा सवारी आवागमन रोकेका स्थानीयलाई स्वयं नगर प्रमुख राजन मेहताले भेटेर अबिलम्भ कालोपत्रेको काम थाल्ने आश्वासन दिएका छन् । स्थानीयले भने मेयरको आश्वासन पुरा नभए सशक्त आन्दोलन चर्काउन बाध्य हुने चेतावनी दिएका छन् ।उक्त सडक खण्डमा अघिल्लो वर्ष समेत स्थानीयले आन्दोलन चर्काएका थिए । सो क्रममा तीन दिन उक्त सडक खण्डमा स्थानीयले अवरोध सृजना गरेका थिए । कालोपत्रे थाल्ने सहमतिमा आन्दोलन टुङिगएपनि सहमति भने कार्यान्वयनमा आउन सकेको छैन् ।इनरुवा नगरपालिकाको कार्यालयले मुख्य बजार क्षेत्रका केहि अतिक्रमित संरचना हटाउन बाँकी रहेकाले एकमुष्ट काम थाल्ने योजना अनुरुप कालोपत्रेको कार्यमा ढिलाई हुदै आएको जनाएको छ । कार्यालयले अब भने निर्माणको कार्यलाई नरोकिने बताएको छ ।

तपाईको प्रतिक्रिया