- अमर काफ्ले

कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ हाँस प्रजातिको चरा थपिएको छ । यो सँगै आरक्षमा पाइने चरा प्रजातिको संख्या ५ सय ३१ पुगेको छ । आरक्षले नयाँ चरा प्रजाति थपिएको पुष्टि समेत गरेको छ । आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीका अनुसार थपिएको पंक्षी बिनगुज सहित आरक्षमा पाइने चरा प्रजातिको संख्या ५ सय ३१ पुगेको छ । नयाँ भेटिएको बिनगुज सहित आरक्षमा पाइने हाँस प्रजातिको संख्या भने ३७ पुगेको छ ।

चौधरीका अनुसार आरक्षमा भेटिएको बिनगुजको ठुँडो सानो छ । खुट्टा गुलाबी भएको उक्त पंक्षीको पखेटाको माथिल्लो भाग शरीरको अन्य भाग भन्दा फिका रहेको बताइएको छ । कार्यालयका अनुसार बिनगुज चरा चखेवा भन्दा केहि ठूलो छ । कार्यालयले चराको राजधानीका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने पंक्षी प्रजातिहरु बढ्दै जानु सकारात्मक पाटो भएको बताएको छ ।

संरक्षण अधिकृत चौधरीले सुनसरी, सप्तरी र उदयपुरको १ सय ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आरक्ष चराको वासस्थानका लागि उपयुक्त गनतब्य रहँदै आएकोे बताउनु भयो ।पंक्षी प्रजाति बढ्दै जाँदा चरा अवलोकन गर्न आउनेहरुको संख्या बढ्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आरक्ष कार्यालयको ठहर छ ।

यद्यपि आरक्षको कार्यालयले चोरी शिकारीका कारण चरा संरक्षणमा भने चुनौति रहेको बताएको छ । आरक्ष कार्यालयका संरक्षण अधिकृत चौधरीका अनुसार विहानीपख आहाराको खोजीमा निस्कने चरालाई शिकारीले खेतबारीमा विष हालेर मार्ने गरेका छन् । जसको नियन्त्रणका लागि गस्ती बढाइएको चौधरीले बताउनु भयो । तस्विर : आरक्षको कार्यालय

तपाईको प्रतिक्रिया