- अमर काफ्ले

कोशी टप्पुको रैथाने जंगली हात्ती मकुना नमारिने भएको छ । आरक्ष क्षेत्रमा जिउधनको क्षति पु¥याउदै आएको मकुना मार्ने मनस्थिति नजिक पुगेको प्रशासन प्राविधिकको राय पर्खने निर्णयमा पुगेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयमा बसेको बैठक मकुना बौलाएको हो वा हैन् भन्ने विषय यकिन गर्ने सहमतिमा टुङिगएको छ । प्रमुख जिल्ला अधिकारी, प्रमुख संरक्षण अधिकृत, आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाका साथै सुरक्षा निकायका प्रमुखका साथै गाउँपालिका अध्यक्ष र पीडित पक्षबिच भएको बैठकले प्राविधिकको सुझाव पर्खने सहमति जुटाएको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार जंगली हात्ती बौलाएको हो वा हैन भन्ने विषय यकिन नभई यसै गरिने भन्ने नमिल्ने बताए । उनले कानुनले तोकेको परिधिभित्र रहि अघि बढिने बताए ।पोखरेलले चितवनबाट प्राविधिकको टोली हिंडिसकेकाले उनीहरुले आएर केहि दिन अवस्था जाँच गरि हात्ती बौलाएको हो हैन् निर्क्यौल गरिने बताए । प्राविधिकको सुझाव अनुसार अन्य प्रकृया अघि बढाइने उनले बताए ।

उता आरक्षको कार्यालयले प्रजिअको निर्णय अन्तिम हुने भएकाले सोही अनुरुपको प्रकृया अघि बढाउन आफुहरु तयार रहेको जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले छलफलबाट क्षतिपूर्ती लगायतको विषयमा समेत सहमति जुटाएको बताए ।छलफलमा सहमति जुटेपछि हिजोबाट धरानमा राखिएको मृतकको शव पोष्टमाटम गरी अन्त्येष्टी समेत हुने भएको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले दीर्घकालीन समस्या समाधान गर्ने गरी छलफल अगाडी बढेको बताए ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदभा (क)मा बौलाएको जंगली जनावर तोकिएको अधिकारीको आदेशमा मार्न, वा पक्रन सकिने उल्लेख छ । तर कोशी टप्पुको मकुना बौलाएको पुष्टि गर्ने आधिकारिक आधार भने अहिले सम्म फेला परेको छैन् ।

तपाईको प्रतिक्रिया