- अमर काफ्ले

हात धोऔं स्वस्थ रहौं / चितवनबाट आईपुगेको प्राविधिक टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगली हात्ती मकुनाको जाँच थालेको छ ।प्राविधिक टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षमा मकुना हात्तीको अवस्था बारे निर्क्योल गर्ने काम थालेको हो । पशु चिकित्सक सहितको तीन सदस्यीय टोलीले कोशी टप्पुमा आज बिहानैबाट मकुना हात्ती उपर निगरानी सुरु गरेको छ ।कोशी टप्पु आइपुगेको टोलीमा पशु चिकित्सक डा.अमिर सडौला सहित वन्यजन्तु प्राविधिक तिर्थ लामा र एम्बुलेन्स चालक सुरेन्द्र तामाङ रहेका छन् । सो टोलीले आरक्षको कार्यालय सँगको समन्वयमा जंगली हात्ती मकुना रहेको स्थान पहिचान गरी निगरानी थालेको छ ।

डा.सडौलाले दिनुभएको जानकारी अनुसार पहिलो चरणमा जंगली हात्ती मकुनाको हाउभाउ बुझ्ने काम थालिएको छ । हात्तीले वितण्डा मच्चाउनुको पछाडीका सम्भावित कारणहरु प्राविधिकले यकिन गरेपछि अन्य प्रकृया अघि बढ्ने सडौलाले जानकारी दिनुभयो । मकुनाले जनधनको क्षति पुर्याउँदै आएको विषयलाई स्थानीयले हात्तीको मनस्थिति बिग्रिएको हुन सक्ने आशंका जताएका छ । उनीहरुले हात्ती मार्नु पर्ने माग गरिरहेका छन् । प्राविधिक टोलीले भने जंगली जनावर स्वभाविक रुपमा हिस्रक हुने भएकाले यसै हो भन्नु पूर्व उसको स्वभावमा आउने परिवर्तन पछाडीका कारण जान्नु महत्वपूर्ण हुने बताएको छ ।

टोलीले हात्ती भौतारिनु र आरक्ष बाहिर निस्कनुलाई शरीरमा घाउचोट हुनु वा वयस्क भई उन्मत्त अवस्था मध्ये कुनै एक कारण हुन सक्ने अड्कल काटेको छ । जसको लागि हर्मोन कन्ट्रोल गर्ने देखि अन्य उपचार आवश्यक पर्ने टोलीको भनाई छ ।टोलीसँगै रहनु भएका आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले चिकित्सक सहितको टोलीले मकुना हात्तीको अवस्था बारेमा अध्ययन सहितका काम थालिसकेको बताउनु भयो । चौधरीले प्राविधिक टोलीले हात्तीको अवस्था र स्वभाव पत्ता लगाएपछि त्यसमा आएको परिवर्तनको कारण खोजेर चिकित्सकले आवश्यक्ता अनुसारको उपचार गर्ने जानकारी दिनुभयो । वहाँले प्राविधिकको राय सुझाव सबैलाई मान्य हुने बताउनु भयो । जंगली हात्तीको निरन्तरजसो आक्रमण र निशानामा पर्दै आएका बासिन्दा र स्थानीय प्रशासनले मकुना मार्नु पर्ने आवाज उठाई रहँदा यतिबेला सो मुद्दा सर्वत्र चासो र चर्चाको विषय बन्न पुगेको छ । पशु अधिकारवादी र वन्यजन्तु संरक्षणको क्षेत्रका काम गर्ने अगुवा तथा सरोकारवाला सहित आम सर्वसाधारणले भने संरक्षित क्षेत्रका जनावर मार्नु उचित नहुने आशयको विमती प्रकट गर्दै नियन्त्रणका प्रभावकारी कदम चालिनु पर्ने आवाज उठाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया