- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं/ संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) इनरुवाले लकडाउन अवधि देखिको बाँकी रहेको आफुहरुको तलब भत्ता उपलब्ध गराइनु पर्ने माग गरेको छ । इस्टुले शिक्षक तथा कर्मचारीको हकमा विगत आठ महिना अवधिको तलब भत्ता पाउनु पर्ने माग गरेको हो ।

नगर कमिटी इनरुवाले विज्ञप्ती जारी गर्दै कोरोना महामारी सँगैको लकडाउनले निजि तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी सबै भन्दा बढी मारमा परेको जनाएको छ । उसले सो अवधि यताको तलब भत्ता उपलब्ध गराउन सरोकारवालाले पहल गरियोस भनेको छ ।सचिव सिताराम श्रेष्ठ र अध्यक्ष दिपेश ढकाल द्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ, “सुधारोन्मूख अवस्थासँगै शैक्षिकसत्र क्रमशः चलायमान बन्दै गएको छ । विगतमा समेत विद्यार्थीको भविष्य निर्धारण गर्न, गराउन अध्यापन कार्यमा संलग्न रहँदै आएका हामी शिक्षक तथा कर्मचारी उक्त कार्यको निरन्तरता प्रति कटिबद्ध छौं । दैनिकी संचालनमा आइपरेको कठिनाई बुझि तलब भत्ताको व्यवस्थापनमा ध्यान दिइयोस ।”इस्टु इनरुवाले विज्ञप्ती मार्फत कार्यरत रहेको शैक्षिक संस्थाको हकमा तलब भत्ताको व्यवस्था मिलाउन आग्रह गरेको छ । उसले अघिल्लो शैक्षिक सत्रको समेत कतिपय शिक्षक कर्मचारीले तलब भत्ता नपाएको जनाएको छ ।संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) इनरुवा नगर कमिटीले माग कार्यान्वयन गराउन इनरुवा नगरपालिकाको कार्यालयसँगै शिक्षा शाखा इनरुवा, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय र प्याब्सन सँग अनुरोध गरेको छ । उसले मागका समवन्धमा वेवास्ता गरिने आन्दोलनमा उत्रने समेत चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया