Can-Info-Tech-2

१५ माघ काठमांडौ।क्यान इन्फोटेक २०१६ आजदेखि भृकुटिमण्डपमा सुरु भएको छ।कम्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले शुक्रबार आयोजना गरेको सोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको द्रुततर विकास गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन् ।उनले मुलकलाई अब आधुनिक बनाउन आवश्यक भइसकेको र त्यसका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए ।

सूचना प्रविधि मेलाको २२औँ संस्करण उद्घाटनको उक्त समारोहमा प्रधानमन्त्री ओलीले विश्वमा हासिल भएका नयाँनयाँ ज्ञान सीपका आधारमा विकासलाई उन्नत र व्यवस्थित बनाउन सकिने बताउँदै त्यसको प्रयोगमा नै हाम्रो विकासको गति निर्भर हुने बताए ।

कार्यक्रममा क्यान महासङ्घका अध्यक्ष इन्जिनियर विनोद ढकालले सूचना सञ्चार प्रविधिको पहुँच ग्रामीण क्षेत्रमा नपुगेसम्म विद्युतीय नेपालको परिकल्पना साकार नहुने बताए ।

सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवाको महत्व र आवश्यकतालाई बुझेर इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्न सरकारसँग आग्रह गरे ।क्यान महासङ्घका महासचिव विश्व बलामीले सूचना प्रविधिसम्बन्धी यस्ता मेलाले मुलुकमा सूचना प्रविधिको विकास र विस्तार गर्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापा, सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्र, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकालगायत उपस्थित रहेका थिए ।

सुबिसु केबलनेटको मुख्य प्रायोजन तथा हुवावेको सहप्रायोजनमा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित सो मेला यही माघ १५ देखि २० गतेसम्म चल्नेछ भने सो मेलामा सूचना सञ्चार प्रविधिसम्बन्धी १८० स्टल रहेका छन् । क्यानले सन् १९९२ देखि प्रत्येक वर्ष राजधानीमा सूचना प्रविधि मेलाको आयोजना गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया