राजविराज । वर्तमान सरकारद्वारा गरिएको संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले सप्तरीको राजविराज सहित देशैभरि विभिन्न स्थानमा बुधबार विरोध प्रदर्शन गरेका छन ।
पार्टीको सोमवार सम्पन्न आकस्मिक बैठकद्वारा गरिएको निर्णय अनुसार देशैभरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभाको बिघटन विरुद्ध प्रदर्शन गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा सहभागीले नाराबाजी गरेका छन् ।
यसैक्रममा संसद पुर्नस्थापनाको माग गर्दै राजविराजको शिव मन्दिर प्राङ्गणबाट शुरु गरिएको रैली राजविराजको विभिन्न भागको परिक्रमा गरेको छ । नगर परिक्रमा पछि गजेन्द्र चौकमा आयोजना गरेको विरोध सभालाई पार्टीका केन्द्रीय कार्यसमिति सदस्य रेणु यादव, संघिय सांसद चन्द्रकान्त चौधरी, प्रदेश सभा सदस्य नेत्रविक्रम शाह, विद्यार्थीका केन्दीय अध्यक्ष किशोर कुमार यादव सहितका नेताहरुले आ-आफ्नो मन्तव्य व्यक्त गरेका छन् ।यसअघि जनता समाजवादी पार्टीले मंगलवार पाँच दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पुस ८ गते बुधवार देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीकालागि देशभरी पार्टी कमिटीहरुको बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।