- अमर काफ्ले

सुनसरीमा शान्तिपूर्ण वाहेकका आन्दोलनका कार्यक्रम संचालन गर्न नपाइने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम सँगै विभिन्न दल र समूहले मुलुकभर आन्दोलन गरि रहँदा सुनसरी प्रशासनले जिल्लामा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि कार्य गर्न र गराउन नपाइने भनेको छ ।

प्रशासनले सो समवन्धमा जिल्लाका प्रमुख दलबिच छलफल गरी सहमति समेत जुटाएको छ । सर्वपक्षीय बैठकको आयोजना गरेको सुनसरी प्रशासनले कुनै पनि आन्दोलनका कार्य गर्नु परे दलले त्यस अगावै सयम र स्थानको बारेमा जानकारी दिइनु पर्ने भनेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार बैठकमा दलीय प्रमुख तथा प्रतिनिधि बिच विभिन्न बुँदामा सहमति भएको छ । जस अनुरुप जिल्लामा आन्दोलनका कुनै पनि कार्य गर्नु परे शान्तिपूर्ण तवरले मात्र गर्न पाइने भनि निर्णय भएको पोखरेलले बताए । दलका प्रतिनिधि र प्रशासन बिच भएको छ बुँदे सहमतिमा आन्दोलन गर्दा सडकमा टायर नबाल्ने, तोडफोड नगर्ने, रेलिङ नभाँच्ने जस्ता निर्णय गरिएको छ । दलहरु बिच भएको सहमतिमा लोकमार्ग वा सडकमा अवरोध समेत नगरिने भनिएको छ । त्यसका अलावा सुरक्षाकर्मीसँग मर्यादित व्यवहार गरिने समेत उल्लेख गरिएको छ । सुनसरी प्रशासनले आन्दोलन र बिरोधका कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित तवरले संचालन गर्नकालागि दलीय सहमति जुटाइएको जनाएकोे छ । उसले एकै स्थानमा एक भन्दा बढी कार्यक्रम जुध्ने गरी राख्न नपाइने विषयमा समेत सहमति भएको बताएको छ ।

तपाईको प्रतिक्रिया