- दिलिप कुमार साह

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा राजावादीद्वारा निकाल्न लागेको र्‍यालीमा दलका युवाहरुले अवरोध गरेको छ । स्थानीय शिव मन्दिरको परिसरबाट र्‍याली निकाल्न सुरु गर्नु भन्दा पहिले नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् । राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्‍याली निकाल्न लागेको सूचना पाएपछि पुगेका नेकपा तथा जसपाका युवाहरुले ती सामग्री खोसेर आगो लगाएका छन् ।

र्‍याली सामग्री खोस्दै र्‍यालीमा सहभागी हुन आएकालाई उनीहरुले भगाएका छन् । सप्तरी समाजको अगुवाईमा मंगलबार राजविराजमा राजा र हिन्दु राष्ट्र पुर्न स्थापनाको माग राख्दै र्‍याली निकाल्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो । आफूहरुको र्‍याली बिथोल्ने प्रयास गर्नु संवैधानिक हकलाई कुण्ठित गर्नु सरह भएको र्‍याली संयोजक राजेश दासले बताए ।उनले आफूहरुको कार्यक्रममा अवरोध गरे पनि कार्यक्रम गरिछाड्ने बताए । मंगलबारै प्रचण्ड-माधव समूहको नेकपाले समेत प्रदर्शन गर्ने तयारी गरेको छ । अहिले राजविराजमा व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

तपाईको प्रतिक्रिया