- अमर काफ्ले

हात्तीको आक्रमणबाट १५ दिनको अवधिमा सुनसरीको कोशी कटान क्षेत्रका २ स्थानीयले ज्यान गुमाएको छन् । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयबाट निस्केको जंगली हात्तीको आक्रमणमा उनीहरुले ज्यान गुमाएका हुन् । मकुना हात्तीको आक्रमणमा प्रमोद यादवले ज्यान गुमाएको दुई साता नबित्दै अर्का व्यक्ति मोतीलाल कायतको समेत आज ज्यान गएको छ । मोतीलाई समेत मकुनालै मारेको स्थानीयको दाबी छ ।

घरबाट मासु लिन हिजो साँझ चोक निस्केका कामत त्यसपछि घर फर्किएनन् । उनको शव आज विहान स्थानीयले फेला पारेका थिए । त्यसपछि बिहानैबाट कटान खण्डमा उनीहरु आन्दोलित बनेका थिए । हात्ती नियन्त्रणको प्रभावकारी कदम नचालिदा आफुहरुले अकालमा ज्यान गुमाउनु परिरहेको पीडितहरुको भनाई छ ।स्थानीयको प्रदर्शनका कारण पूर्व पश्चिम राजमार्ग केहि समयमा अवरुद्ध हुन पुगेको थियो । स्थानीयले आन्दोलन चर्काएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख घटनास्थल पुगेका थिए । स्थानीय अगुवा सँगको सहमतिमा मृतकको शव राजमार्गबाट हटाई आरक्षको कार्यालयमा लगेर धर्ना दिई वार्ता थालिएको थियो ।

जसमा उनीहरुले पटक पटक घटना दोहोरी रहेको भन्दै मृतकको अन्तिम संस्कार नगर्ने बताएपनि आरक्ष, प्रशासन र अगुवा सहितको भेलाले नियन्त्रणको पहल थाल्ने सहमति जुटायो । जस अनुरुप चिकित्सक सहितको प्राविधिक टोली पूनः बोलाउने र प्रभावकारी कदम चाल्नुका साथै सोलार फेन्सिङ मजबुत बनाउने सहमति भएको प्रजिअ फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।मकुना त्यही हात्ती हो । जसलाई यतिबेला आरक्षमा हर्मोन कन्ट्रोल गर्न औषधि दिइएको छ । दुई साता अघि स्थानीयलाई मारेको मकुना हात्ती मार्ने निर्णयमा पुगेको सुनसरी प्रशासन अन्तिम समयमा भने प्राविधिक टोली बोलाएर उपचार गर्ने पक्ष्यमा पुगेको थियो ।प्राविधिकले हात्ती बौलाएको नपाइएको भन्दै उपचार थालिरहेको अवस्थामा पूनः सोही हात्तीको आक्रमणबाट स्थानीयको ज्यान गएपछि गाउँबासी थप आक्रोसित बनेका छन् ।

गाउँपालिका अध्यक्ष एयुब अन्सारीले समेत हात्तीको आक्रमण नरोकिएको भन्दै अब दीर्घकालिन समाधान खोज्न ढिला गर्न नहुने बताए । उनले अबको वार्ता ठोस र निर्णायक हुने बताए ।पछिल्लो चार वर्षको अवधिमा हात्तीको आक्रमणबाट कोशी टप्पु आसपासको क्षेत्रमा २४ जनाले ज्यान गुमाएका छन् ।कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयका अनुसार आर्थिक वर्ष २०७५।०७६ यता जंगली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरीमा ९ जनाको मृत्यु भएको छ । घाइतेको संख्या समेत दुई दर्जन बढी छ ।हात्तीको आक्रमणबाट आफन्त गुमाएको परिवारले राज्यबाट क्षतिपूर्ति वापत १० लाख ५० रुपैंया पाउदै आएका छन् ।उनीहरुले राहत भन्दा पनि जंगली हात्ती नियन्त्रण तथा व्यवस्थापन सहितको दीर्घकालिन समाधान हुनु पर्ने आवाज उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया