- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं / इनरुवा नगरपालिकाकी उप प्रमुख जमुना गौतम पोखरेलले नगर भित्र रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन थालेकी छिन् ।  वडा तहमा रहेका स्वास्थ्य संस्थाको अवस्था र प्रवाह हुने सेवा सुविधा लगायतका विषय जानकारीका लागि अनुगमन थालिएको पोखरेलले बताइन् । उनले नियमित प्रकृया अन्र्तगत स्वास्थ्य संस्थाहरुमा अनुगमन थालिएको बताइन् ।

अनुगमन टोलीमा उप प्रमुख पोखरेल सहित इनरुवा नगरपालिकाको स्वास्थ्य शाखा इन्चार्ज कपलेश्वर प्रसाद साह सहित नगेन्द्र कार्की सहभागि थिए । उक्त टोलीले इनरुवा नगरपालिकाको वडा नम्बर २,६,७,९ र १० नम्बर वडाको अनुगमन सकाएको छ ।

अनुगमनका क्रममा उप प्रमुखले स्वास्थ्य संस्थाको भवनको अवस्थाका साथै औषधीको पर्याप्तता भए नभएको बारे जानकारी बटुलेकी छिन् । साथै उनले सेवाग्राहीको दैनिक उपस्थिति र स्रोत साधनको उपलब्धताको बारेमा समेत सोधखोज गरेकी थिइन् ।उप प्रमुख पोखरेलले स्वास्थ्य संस्थाको सेवा प्रवाह चुस्त बनाउन समेत निरन्तर अनुगमन जरुरी रहेको बताइन् । उनले अपवाद बाहेकका स्वास्थ्य संस्थाका हकमा औषधी अभावको समस्या देखिएको बताइन् । पोखरेलले केही स्थानमा सरसफाईमा समेत कमी पाइएकाले सुधार्न निर्देशन दिइएको बताइन् ।

अनुगमन पश्चात संचारकर्मी सँग आफ्ना भनाई राख्दै उप प्रमुखले अनुगमनको क्रमलाई निरन्तरता दिइने बताइन् । पोखरेलले स्वास्थ्य अति संवेदनशील विषय भएकाले समेत सेवा प्रवाह र स्रोत साधनको उपलब्धताको सवालमा नगरपालिकाको कार्यालयले कमी महसुस हुन नदिने बताइन् ।

अनुगमन टोली समक्ष स्वास्थ्य चौकीका इन्चार्जहरुले आफ्ना समस्याहरु राखेका थिए । उनीहरुले औषधिको अभाव, कोठा लगायतका संरचना अभाव, जनशक्ति अभाव र सेवा प्रवाहमा कठिनाई जस्ता समस्या सम्बोधनको अपेक्षा गरेका छन् ।मधेशा स्वास्थ्य चौकी पुगेको अनुगमन टोली समक्ष भने स्वास्थ्यकर्मीहरुले नगरकै एकमात्र वर्थिङ सेन्टर भएर पनि स्रोत र साधनको अभावका बिच काम गर्नु परेको गुनासो पोखे ।सो क्रममा कार्यपालिका सदस्य समेत रहेकी मनु चापागाईले सेन्टरको स्तर उन्नति र सहज सेवा प्रवाहका निम्ति नगरपालिकाले ठोस कदम चाल्न नसकेको बताइन् । उनले स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई सहज तुल्याउन सबैको साथ र सहयोगको आवश्यक्ता औल्याइन् । अनुगमन टोलीकी संयोजक पोखरेलले मधेशा स्वास्थ्य चौकीमा संचालनमा रहेको वर्थिङ सेन्टरका लागि आवश्यक स्रोत साधनको अभाव देखिएकाले उपलब्धताको लागि पहल थाल्ने बताइन् ।उप प्रमुख पोखरेलले नगरका सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न र सेवा प्रवाहको हकमा सवल र सक्षम बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताइन् । वडावासीले स्वास्थ्य सेवाको लागि अन्यत्र भौतारिनु पर्ने अवस्था निम्तन नदिन आफुहरु लागिपरेको उनले बताइन् । उनले अन्य स्वास्थ्य संस्थाको हकमा समेत अनुगमन सकाएर प्रतिवेदन तयार पारी कार्यान्वयनको लागि कार्यपालिकामा पेश गरिने बताइन् ।



तपाईको प्रतिक्रिया