- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं/ सुनसरीको इनरुवामा आयोजित ओली पक्ष आवद्ध अखिल नेपाल महिला संघको भेलामा सहभागि संख्या उल्लेखनीय देखिएको छ ।

नेपाल लेखापढी कानुन व्यवसायीको भवनमा आयोजित कार्यक्रममा सहभागिको संख्यात्मक उपस्थिति बाक्लो देखिएको हो । सहभागिको भीडलाई व्यवस्थित गरी आयोजकले कार्यक्रम संचालनमा ल्याएको थियो ।अनेम संघ इनरुवा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई महिला नेतृका अलावा नेकपा ओली पक्षधर नेताहरुले सम्बोधन गरेका थिए ।

नगर कमिटी अध्यक्ष इन्दिरा पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि भगवती चौधरी रहेकी थिइन् ।सो कार्यक्रममा नेताहरु तैयब हुसेन, खेमराज पोखरेल, रेवती भण्डारी, लिलम बस्नेत, लक्ष्मी गौतम, मञ्जु भण्डारी, सरोज पोखरेल र कानुन अधिकारी, मेघराज न्यौपाने, सरिता कार्की घिमिरे लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश वक्ताले प्रधानमंत्री ओलीको कदमलाई सराहनीय भनेका छन् । उनीहरुले प्रचण्डले नेकपा निल्न लागेपछि पार्टी र मुलुकलाई जोगाउन ओलीले बाध्यात्मक रुपमा पछिल्लो कदम चाल्नु परेको जिकिर गरे ।

कार्यक्रममा बोल्ने क्रममा अधिकांश वक्ताले ओली पक्षको कार्यक्रममा क्रमशः जन सहभागिता बढ्दै जानुलाई आम जनतामाझ राजनीतिक घटनाक्रम बारेको वास्तविकता छर्लङ्ग हुँदै गएको रुपमा व्याख्या गरेका छन् । उनीहरुले कार्यकर्तालाई नअत्ताली धैर्य गर्न आग्रह गरेका छन् । कार्यक्रममा नेताहरुले आगामी चुनावको तयारीमा लाग्न आग्रह गर्दै सुर्य चिन्ह आफुहरुकै हुने समेत ठोकुवा गरे ।

कार्यक्रममा दिइएको जानकारी अनुसार अनेम संघले जिल्लाका सबै नगरमा कमिटी विस्तारलाई अघि बढाएको छ । हरेक वडालाई समेट्ने गरी कमिटी विस्तारको क्रम अघि बढाइने अनेम संघले जनाएको छ ।यसैबिच अनेम संघ ओली पक्षधर इनरुवा नगर कमिटी गठन गरिएको छ । इन्दिरा पराजुली संयोजक रहेको कमिटीको सह–संयोजकमा सरिता कार्की घिमिरे रहेकी छिन् । त्यसैगरी सचिवमा सविना सिग्देल रेग्मी र कोषाध्यक्षमा अनु आले चुनिएकी छिन् । गठित नयाँ नगर कमिटी ५५ सदस्यीय रहेको छ ।



तपाईको प्रतिक्रिया