- अमर काफ्ले

नेपाली कांग्रेसले आज देश भरका वडाहरुमा प्रदर्शन गर्दै छ । संसद विघटनको विरोधमा कांग्रेसले आज देशभर रहेका ६ हजार ७ सय ४३ वडाहरुमा प्रदर्शन गर्दै छ । सुनसरीमा केन्द्रको सर्कुलर अनुरुप इनरुवा सहितका स्थानीय तहमा कांग्रेसले वडा केन्द्रीत विरोध प्रदर्शन थालेको छ ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवा सुनसरीका अनुसार जिल्लामा रहेका १२ स्थानीय तह भित्र पर्ने सबै १२४ वडामा आफु पायक विरोध कार्यक्रम थालिएका छन् ।
सदरमुकाम इनरुवाको वडा नम्बर ६ मा र्याली तथा प्रदर्शन सहित कोण सभा समपन्न भैसकेको छ ।

नेपाली कांग्रेस इनरुवा ६ नम्बर वडा समितिले विहानै विरोध प्रदर्शनको आयोजना गरेको थियो । प्रदर्शनमा स्थानीय नेता तथा कार्यकर्ता सहित कांग्रेस भातृ संगठन आवद्ध सदस्य तथा पदाधिकारी लगायतको उपस्थिती थियो ।

वडा कार्यालयमा भेला भएका कांगे्रसीहरुले र्याली पश्चात कोण सभाको आयोजना गरेका थिए । विरोध सभालाई वडा समिति अध्यक्ष सुमन थापा सहितका नेताहरु दिनेश सुवेदी, उत्तम कार्की लगायतले सम्बोधन गरेका छन् ।

वक्ताहरुले प्रधानमंत्री ओलीको कदम असंवैधानिक भएको भन्दै आफुहरुको सडक आन्दोलन जारी रहने बताए । उनीहरुले केन्द्रको निर्देशन बमोजिमका कार्यक्रमलाई अघि बढाइने बताए । नेपाली कांग्रेसले यस अघि १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनका कार्यक्रम समपन्न गरिसकेको छ ।


तपाईको प्रतिक्रिया