- अमर काफ्ले

नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री पोखरेलले प्रचण्ड सर्वेसर्वा बन्न खोज्दा पछिल्लो घटनाक्रम सृजना हुन पुगेको बताउनु भएको छ ।

पोखरेलले प्रचण्डका कारण मुलुकमा निम्तन सक्ने दुर्घटना जोगाउन प्रधानमंत्री ओलीले संसद विघटन गर्नु परेको बताउनु भएको हो । सुनसरीको दुहवीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधान मंत्री पोखरेलले प्रचण्डकै कारण मुलुकले सोचे अनुरुपको प्रगति हात पार्न नसकेको समेत बताउनु भयो ।

एकातिर सहमति गरी अर्को तिर कुद्ने प्रचण्डको स्वभावलाई पोखरेलले ढुलमुले प्रवृतिको संज्ञा समेत दिनु भएको छ ।पोखरेलले प्रचण्ड उपर पार्टी भित्र संगसंगै अघि बढ्ने अनुरुप गरिएका सहमतिको विपक्षमा गई स्वार्थ लिप्तामा लागेको आरोप समेत लगाउनु भयो । सम्बोधनको क्रममा उप प्रधानमंत्री पोखरेलले प्रचण्ड र माधव पक्ष ताजा जनादेशमा जान डराएको बताउनु भयो ।

सो कार्यक्रमलाई प्रदेश एकका मुख्यमंत्री शेरधन राईले समेत सम्बोधन गर्नु भएको थियो । सम्बोधनको क्रममा मुख्यमंत्री राईले आफु विरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताउनु भएको छ । राईले भीम आचार्यको कुनै पनि तिकडमले काम नगर्ने भन्दै आफु विरुद्धको अविश्वास प्रस्ताव पास हुनै नसक्ने दावी गर्नुभयो ।सुनसरीको दुहवी रंगशालामा आयोजना गरिएको जिल्ला स्तरीय कार्यकर्ता भेलामा प्रचण्ड माधव पक्षका राम कोइराला सहितका नाम चलेका नेताहरु ओली गुटमा प्रवेश गरेका थिए ।


तपाईको प्रतिक्रिया