- अमर काफ्ले

बसपार्कको भवनमा प्रादेशिक अस्पताल संचालनमा ल्याउन खोजिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । बसपार्कको लागि इनरुवा ४ मा निर्मित संरचनालाई प्रहरीको प्रादेशिक अस्पतालको रुपमा संचालन गर्न लागिएको भन्दै जग्गादातारुले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाको निर्णय आफुहरुलाई अमान्य रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्ने जग्गादाताहरुले आफुहरुको योगदानको अवमूल्यन गर्न खोजिएको विषय उपर कानुनी उपचार खोजिने बताए । त्यसका अलावा आवश्यक परे वडावासीको साथमा आन्दोलनमा उत्रन समेत पछि नपर्ने उनीहरुले बताए ।निर्माण सम्पन्न भएको लामो समय बित्दा समेत बसपार्क संचालनमा आउन नसकी रहेकोे अवस्थाका बिच नगरपालिकाको कार्यालयले सो भवनलाई अस्पतालमा रुपान्तरण गरी सेवा थालनीको पहल थालेको थियो ।सोही अनुरुप प्रदेश १ का प्रहरी प्रमुख सहित प्राविधिक टोलीले तयारी स्वरुप अनुगमन गरेको थियो । सोही विषयलाई लिएर स्थानीय जग्गादाता सहितकाले असन्तुष्टि जाहेर गर्दै पत्रकार सम्मेलन मार्फत कानुनी उपचार सहित आन्दोलनको बाटो रोज्ने बताएका हुन् । उनीहरुले आफुहरुको धारणा र राय नबुझी आफुखुशी निर्णय लाद्न खोजिएको प्रति आक्रोस समेत व्यक्त गरे ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष श्यामदेव मेहता सहितको उपस्थिति रहेको थियो । उपस्थित सबैले जुन प्रयोजनको लागि जग्गा दान गरिएको हो । सोही अनुरुपको सेवा संचालन वाहेकको अन्य विकल्प आफुहरुको लागि मान्य नहुने बताए ।जग्गादाता सहित पत्रकार सम्मेलनमा उपस्थित स्थानीयले अस्पताल संचालन नै गर्ने भए अन्यत्र जग्गा खोजी चाहे अनुरुपको संरचना निर्माण गर्न नगरपालिकालाई सुझाव दिए ।उता नगरपालिकाको कार्यालयले भने तत्कालिन अवस्थामा बसपार्कको संरचना निर्माण भएपनि अहिलेको आवश्यक्ता सुविधा सम्पन्न अस्पताल भएको बताएको छ । उसले प्रहरीको प्रादेशिक अस्पताल संचालनमा आए क्रमशः थपिदै जाने विशेषज्ञ सहितको स्वास्थ्योपचारमा सबै नगरवासीको सहज पहुँच पुग्ने जनाएको छ ।नगर प्रमुख राजन मेहताले समग्र रुपमा नगरको समृद्धि र दीर्घगामी बिकासलाई आत्मसाथ गर्दै अस्पताल संचालनको सोच अघि सारिएको बताए । जसले नगरको बिकासमा टेवा पुग्ने मेहताले बताए । सृजित असमञ्जस्यताको विषयमा भने स्थानीयसँग छलफल गरी छिट्टै निकाश निकालिने उनले बताए । मेहताले अस्पताल संचालन पछि जग्गादाताहरुको सवालमा विशेष सम्मान सहितको सेवा सुविधाको ग्यारेण्टी गरिने बताए ।


तपाईको प्रतिक्रिया