- अमर काफ्ले

सुनसरीमा खसीबाख्रा र भेडामा लाग्ने संक्रामक रोग पीपीआर विरुद्ध निःशुल्क खोप अभियान थालिएको छ । सुनसरीको हकमा इनरुवा नगरपालिकाको वडा नम्बर ८ बाट पीपीआर विरुद्धको खोप अभियानको सुरुवात गरिएको हो ।


फागुन ३ गते सम्म चल्ने अभियानको प्रदेश नम्बर १ को भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकी सचिव निरु दाहाल पाण्डेले उद्घाटन गर्नु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले औपचारिक कार्यक्रमको आयोजना गरी पीपीआर रोग विरुद्धको निःशुल्क खोप अभियान संचालनमा ल्याएको हो । इनरुवा नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष रविन्द्र मण्डलको अध्यक्षतामा आयोजित निःशुल्क खोप अभियान समुद्घाटन कार्यक्रममा पशु विकास महाशाखाका प्रमुख डा.पशुपति ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख राजेन्द्र प्रसाद साह, डा.मनोज कुमार महतो सहित पशु अधिकृत रामप्रसाद मेहता र चिनेश्वर मेहता लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमका बिच खसीबाख्रा कृषकलाई पशु औषधी समेत वितरण गरिएको थियो । पीपीआर खोप लगाउन वरपरका गाउँ टोलबाट स्थानीयहरु खसीबाख्रा सहित कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्लाका १२ वटै पालिकाको वडा तहमा पुगेर स्थानीय तह सँगको समन्वयमा  खोप लगाइने छ ।


तपाईको प्रतिक्रिया