- अमर काफ्ले

प्रहरीको प्रादेशिक अस्पतालको तरङ्गले संचालन विहिन अवस्थामा रहेको इनरुवा बसपार्क सुचारु गराएको छ ।उद्घाटन भएको २ वर्ष सम्म लथालिङग बनेको बसपार्कको संरचनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रादेशिक अस्पतालको लागि प्रयोगमा ल्याउन लागेको थियो । उक्त विषय बाहिरिए लगत्तै जग्गादाता सहित स्थानीयको भेलाले बसपार्क संचालनमा ल्याएको हो ।बसपार्कमा बस छिराउन स्वयं स्थानीय खटिएका छन् । यसअघि प्रादेशिक अस्पतालको पक्षमा लविङ गर्दै आएको इनरुवा नगरपालिकाको कार्यालयले समेत यतिबेला भने स्थानीयको कदममा साथ दिएको छ ।

अघिल्लो नगर सभाले बसपार्क रहेको संरचनालाई प्रादेशिक अस्पतालका रुपमा प्रयोगमा ल्याउने निर्णय गरेको थियो । उक्त सभाले बसपार्क संचालनमा आउन नसकेको कारण सहित प्रहरीको अस्पताल संचालनमा ल्याउने भनि निर्णय गरेतापनि सातौं नगर सभामा भने अस्पतालको लागि नगर भित्रै अन्यत्र जग्गा उपलब्ध गराउने सहमति जुटाइएको छ ।जसको लागि नगर प्रमुख राजन मेहताले नगर सभामै आवाज उठाएका छन् । उनले तत्कालिन अवस्थामा प्राविधिक कठिनाईले बसपार्क संचालनमा आउन नसकेको तर्क अघि सार्दै बसपार्कको नाममा नेपाल सरकारबाट दिने भनिएको ८० करोड प्राप्त नभएकाले संचालनमा ढिलाई भएको बताए । मेहताले आफुले संचालनको प्रयास थाल्दाको अवस्थामा भने व्यवसायी लगायतबाट असहयोग भएको बताए ।

तत्कालिन अवस्थामा यावत कारणले बसपार्क संचालनमा आउन नसक्ने देखिएकाले प्रादेशिक अस्पतालको पहल थालिएको बताएका मेयर मेहताले स्थानीय सहित यातायात व्यवसायी मिलेर बसपार्क नै संचालनमा ल्याउछौ भनेकाले नगरपालिकाले समेत साथ दिएको बताए । उता संचालन विहिन अवस्थामा रहेको बसपार्क एकाएक संचालनमा आएसँगै प्रहरीको प्रादेशिक अस्पताल कहाँ बन्ने हो भन्ने विषय भने अन्यौलमा परेको छ ।इनरुवामा प्रादेशिक अस्पताल संचालनको सवलामा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो अवस्था पश्चात अब के हुन्छ भन्ने विषय यकिन साथ भन्न नसकिने जनाएको छ ।

जिप्रका सुनसरीले अस्पताल निर्माणको लागि अन्य जिल्लाले समेत चासो देखाउन थालेको बताएको छ । यद्यपि उसले पहिलो प्राथमिकता भने इनरुवाले पाउने सम्भावना कायमै रहेको जनाएको छ । नगरपालिकाले समेत अस्पताललाई इनरुवा भित्रै संचालनमा ल्याउने गरी तयारी तिव्र पारेको जनाएको छ । उसले नगरको समृद्धि र विकासको रुपमा हेरिएको प्रहरीको प्रादेशिक अस्पताल अन्यत्र जान नदिने सोचका साथ तयारीमा जुटेको जनाएको छ । बन्ने भनिएको प्रादेशिक अस्पताल सुविधा समपन्न ५० वेडको विशेषज्ञ सेवा सहितको रहने भनिएको छ । जसमा ट्रमा सेन्टर र नरसिङ कलेज समेत संचालनमा रहने बताइएको छ ।


तपाईको प्रतिक्रिया