- अमर काफ्ले

इनरुवामा प्याब्सन सुनसरीले अभिभावक जागरण अभियानलाई निरन्तरता दिएको छ ।  प्याब्सन सुनसरीले समय सापेक्ष ज्ञान प्रवाह गर्ने उद्येश्य साथ अभिभावक लक्षित अभियान थालेको जनाएको छ । प्याब्सनले बालबालिकाको मनोभाव बुझेर व्यवहार गर्ने बानी स्थापित गराउन अभिभावक लक्षित शैक्षिक परामर्श कार्यक्रमलाई इनरुवामा निरन्तरता दिइएको जनाएको छ ।

सोही अनुरुप आज इनरुवा ३ मा रहेको दमार्टर इङ्गिलस स्कूलमा बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श तथा अभिभावक तालिम कार्यक्रमको आयोजना गरिएको प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले बताए ।

दमार्टरले आयोजना गरेको शैक्षिक परामर्श कार्यक्रममा अधिवक्ता समेत रहेका विद्यालयका संस्थापक प्रिन्सिपल प्रेम प्रसाद पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पोखरेल, विद्यालयका प्रिन्सिपल अमित आले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थापक प्रिन्सिपल र व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान समेत गरिएको थियो ।

उद्घाटन सत्र पश्चात सहभागि अभिभावहरुको लागि बाल मनोविद् पल्लभ सम्मनले सहजकर्ताका रुपमा शैक्षिक परामर्श तथा प्रशिक्षण दिएका थिए । पल्लभ सुनसरी प्याब्सन सँगको सहकार्यमा थालिएको शैक्षिक परामर्श कार्यक्रमको क्रममा यतिबेला इनरुवामा छन् । अभियान अन्तर्गत सम्मनले बालमैत्री व्यहारको साथै अभिभावकको भूमिका विषयमा प्रशिक्षण दिदै आएका छन् । जस अन्तर्गत दमार्टरमा समेत उनले बालबालिकाको मनोभाव बुझेर सोही अनुरुपको व्यवहार गरिनु पर्ने विषय केन्द्रीत प्रशिक्षण दिए । दमार्टर स्कूलका प्रवन्ध निर्देशक दिपक कार्कीका अनुसार बाल मनोविज्ञान सम्वन्धि अभिभावक लक्षित शैक्षिक परामर्श कार्यक्रम बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा कोसेढुङ्गा सावित हुने बताए ।

कार्कीले बालबालिकाको शिक्षामा विद्यालयका अलावा अभिभावकको समेत ठूलो हात हुने भएकाले सोही अनुरुप बालबालिकाको मनोभाव बुझेर व्यवहार लागु गर्न प्रेरित गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए । उनले प्रशिक्षणका क्रममा सिकेका कुरा व्यवहारमा उतार्न अभिभावक समक्ष आग्रह समेत गरिने बताए । इनरुवाबाट थालिएको शैक्षिक परामर्श अभियानलाई क्रमशः जिल्लाभर लागु गरिने प्याब्सन सुनसरको लक्ष रहेको छ । उसले इनरुवामा रहेका निजी विद्यालयमा कार्यक्रम संचालन पश्चात अन्यत्र कार्यक्रम थालनी गरिने जनाएको छ ।


तपाईको प्रतिक्रिया