- अमर काफ्ले

इनरुवा अस्पताल सुधार संघर्ष समितिको अभिव्यक्ति प्रति नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले आपत्ति जनाएको छ । समितिका संयोजक दिलिप साहले नगर प्रमुख र सांसद लक्षित दिएको अभिव्यक्ति प्रति नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले खेद प्रकट गरेको हो ।

संयोजक साहले शनिवार सत्यनारायण मन्दिरमा आयोजित वृहत अन्तरकृया कार्यक्रममा नगर प्रमुख राजन मेहता उठे देखि सुते सम्म कमिसनमा लिप्त रहने गरेको जस्ता विरोधाभासपूर्ण अभिव्यक्ति दिएका थिए ।कार्यक्रममा दिइएको अभिव्यक्ति सहितका विषयलाई सुनियोजित राजनीतिक फण्डा ठहर गर्दै काँग्रेस नगर कार्य समितिले विज्ञप्ती मार्फत आपत्ति जनाएको हो ।समितिले विज्ञप्तीमा अस्पताल सुधारका नाममा संघर्ष समितिले अरुको मानहानी गर्ने गरी गालीगलौज गरेको र कपोकल्पित भ्रम छर्ने कार्य भएको भन्दै निन्दा गरेको छ ।नगर सचिव रोशन खड्का र धिरज भट्टराईद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तीमा नेताहरु माथि गम्भिर खालका आरोप लगाउने व्यक्तिलाई प्रमाण भए सावित गरी देखाउन चुनौति दिइएको छ ।

संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा संयोजकले दिएको अभिव्यक्तिको विषय सामाजिक सञ्जाल सहित संचारमाध्यमबाट बाहिरिए पछि नेपाली काँग्रेस नगर कार्य समितिले विज्ञप्ती निकालेर आपत्ति जनाएको हो ।सो विज्ञप्तीमा संघर्ष समितिका नाममा केहि व्यक्तिले राजनीति लाभ खोज्न अरुलाई आक्षेप लगाउने खालका टिका टिप्पणीमा उत्रिएको उल्लेख छ ।संघर्ष समितिका नाममा व्यक्तिगत स्वार्थ बोकेका व्यक्तिले नगरवासी माझ भ्रम छर्ने काम गरी रहेको प्रति सचेत रहन समेत नगरवासी समक्ष नेपाली काँग्रेसले आग्रह समेत गरेको छ । काँग्रेसले समितिको भजाएर नेता बन्न चाहने व्यक्तिलाई पार्टीको झण्डा बोकेर लोकतान्त्रिक पद्धतिबाट मैदानमा आइ प्रतिस्पर्धामा उत्रन चुनौति समेत दिएको छ ।अस्पताल भित्रको वेथिति हटाएर गुणस्तरीय सेवा प्रवाह मिलाउदै रिक्त दरबन्दी पदपूर्ति सहित आर्थिक पारदर्शीताको मुद्दा उठाउन भन्दै संघर्ष समिति गठन गरिएको थियो । चरणवद्ध दबाब मूलक कार्यक्रम चाल्दै आएको समितिले जनदवाब बढाउन वडास्तरमा समिति विस्तार समेत गर्दै आएको छ ।पछिल्लो पटक शनिबारको कार्यक्रममा खरो रुपमा प्रस्तुत भएका समितिका संयोजक साहले आफुहरुको अभियान अस्पताल मात्रै केन्द्रीत नभई अन्यत्र समेत विस्तार हुने भन्दै नेताहरु लक्षित अभिव्यक्ति दिए पछि समिति विवादमा तानिएको छ ।

तपाईको प्रतिक्रिया